मनसुन सक्रिय: देशभर बदली, केही स्थानमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेकाले र अरब सागरबाट जलवाष्पयुक्त हावाको निरन्तर प्रवाहका कारण देशभर मनसुन सक्रिय देखिएको छ । यसले गर्दा आगामी २४ घण्टाभित्र देशका विभिन्न भू-भागमा बदली, मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हाल मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै अन्य प्रदेशका पहाडी भू-भागमा सामान्यतया बदली रहेको छ भने बाँकी भू-भागमा आंशिक बदली छाएको छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

सोमबार देशभर सामान्यतया बदली रहनेछ । यस दिन कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । यसैगरी, बाँकी पहाडी र तराईका थोरै स्थानहरूमा पनि मध्यम वर्षा हुने अनुमान गरिएको छ । विशेषगरी बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

आज राती देशभर सामान्यतया बदली रहनेछ । सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।  तराईका एक-दुई स्थानमा पनि हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ ।

वर्षाका कारण हुन सक्ने बाढी, पहिरो र डुबान जस्ता विपद्बाट जोगिन आवश्यक पूर्वतयारी तथा सावधानी अपनाउन सम्बन्धित निकाय र सर्वसाधारणलाई विभागले अनुरोध गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री