आईएमई लाइफ इन्स्योन्सको वार्षिकोत्सवमा मैत्रीपूर्ण फुटसल, कर्मचारीबीच बढ्यो एकता र ऊर्जा

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो आठौँ वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । वार्षिकोत्सवको अवसरमा कम्पनीले आफ्ना कर्मचारीहरूबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरेको हो । ‘खेलकुदमार्फत स्वास्थ्य, एकता र ऊर्जा’ भन्ने नाराका साथ सम्पन्न प्रतियोगिताले कर्मचारीहरूमाझ नयाँ उत्साह र टिमवर्कको भावना अभिवृद्धि गरेको छ ।

कम्पनीको कर्पोरेट कार्यालय, विभिन्न शाखा कार्यालयहरू तथा व्यवस्थापन समूहका कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको उक्त फुटसल प्रतियोगिताको मुख्य उद्देश्य कार्यस्थलमा आपसी समन्वय, टोलीकार्यको भावना र स्वस्थ प्रतिस्पर्धाको विकास गर्नु रहेको कम्पनीले जनाएको छ । विभिन्न विभाग र शाखाहरूबाट बनेका टोलीहरूले मैदानमा आफ्नो खेल कौशल प्रदर्शन गरेका थिए ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विशेष सम्मान गरिएको थियो । कार्यक्रममा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रमको समापन समारोहमा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले खेलकुदको महत्वमाथि प्रकाश पारे । उनले भने, ‘खेलकुद केवल मनोरञ्जनको माध्यम मात्र नभई यसले टिम भावना, आत्मविश्वास र शारीरिक तथा मानसिक स्वास्थ्यलाई समेत मजबुत बनाउँछ ।’ उनले यस्ता गतिविधिले कर्मचारीको उत्पादकत्वमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।

आईएमई लाइफले वार्षिकोत्सवका अवसरमा फुटसल प्रतियोगिताका अतिरिक्त रक्तदान, स्वास्थ्य शिविर र बीमा सचेतना जस्ता अन्य सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू पनि आयोजना गरेको थियो । कम्पनीले आफ्ना कर्मचारीहरूको सशक्तिकरण, स्वास्थ्य र समावेशी सहभागितालाई सदैव प्राथमिकतामा राख्ने र आगामी दिनमा यस्ता कार्यक्रमहरूलाई अझ प्रभावकारी ढंगले निरन्तरता दिने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री