उच्चपदस्थसँगको पहुँच देखाउँदै मिटरब्याज आतंक, डेढ करोड ऋण दिएर पाँच करोड असुल्ने शारीरिक सुगठन खेलाडी पक्राउ

काठमाडौं । प्रधानमन्त्री, मन्त्रीदेखि प्रहरी प्रमुखसम्मका उच्चपदस्थ व्यक्तिसँगका तस्वीर सामाजिक सञ्जालमा देखाएर आफूलाई शक्तिशाली देखाउने र त्यसैको आडमा अवैध मिटरब्याजी धन्दा चलाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक, इन्द्रावती गाउँपालिका-५ का ३४ वर्षीय कविराज कटुवाललाई जिल्ला प्रहरी परिसर, ललितपुरले अनुचित लेनदेन (मिटरब्याज) को आरोपमा मकवानपुरबाट पक्राउ गरी अनुसन्धान अघि बढाएको हो ।

शारीरिक सुगठनका खेलाडीसमेत रहेका कटुवालले सामाजिक सञ्जाललाई आफ्नो अवैध धन्दाको हतियार बनाएका थिए । उनले उच्च राजनीतिक र प्रशासनिक पहुँच भएको भ्रम छर्दै सर्वसाधारणलाई आतंकित पारेर मिटरब्याजको सञ्जाल चलाएको आरोप छ । ललितपुर जिल्ला अदालतले बुधबार उनलाई अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

परिसरका एक अनुसन्धान अधिकृतले भने, ‘उच्चपदस्थ व्यक्तिसँग तस्वीर खिचाउने र त्यसैलाई आफ्नो शक्तिको स्रोतका रूपमा प्रस्तुत गर्दै अनुचित लेनदेनको अपराध गर्ने उनको प्रवृत्ति देखिन्छ । हामी गहिरो अनुसन्धान गरिरहेका छौं ।’

डेढ करोडको ऋण, पाँच करोड असुली
प्रहरीका अनुसार, कटुवालले बौद्धमा व्यवसाय गर्ने एक व्यक्तिलाई १ करोड ४० लाख रुपैयाँ ऋण दिएर चार वर्षको अवधिमा ब्याजसहित ४ करोड ८६ लाख ९३ हजार रुपैयाँ असुलिसकेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पीडित युवकले दिएको जाहेरीअनुसार, सन् २०२३ देखि २०२५ सम्म पटक-पटक गरी उनले उक्त रकम तिरेका थिए ।

पीडितले प्रहरीमा दिएको बयानमा कटुवालले गरेका विभिन्न व्यक्तिका बैंक खातामा करोडौं रुपैयाँ जम्मा गरेको विस्तृत विवरण पेश गरेका छन् । जसअनुसार, कटुवालको एभरेष्ट र कुमारी बैंकको खाता, पशुपति कटुवाल, मन्जु भण्डारी, भीमराज गिरी, शिवमाया गिरी, शरदप्रताप सिंह, सलिना कटुवाल, विक्रमसिंह गुरुङ र तिलकराम राई लगायतका व्यक्तिको खातामा लाखौं रुपैयाँ जम्मा गरिएको दाबी गरिएको छ । प्रहरीले पीडितको यो दाबी र बैंक खाताको विवरणबारे विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।

पाँच करोड तिर्दा पनि धम्की, कार नै कब्जामा
पीडित युवकका अनुसार, डेढ करोडको ऋणमा झण्डै पाँच करोड रुपैयाँ बुझाइसक्दा पनि कटुवालले थप रकम माग गर्दै धम्क्याउन छाडेनन् । उल्टै, गत साउन २२ गते पुल्चोकस्थित लबिम मल अगाडिबाट आफूले चलाउँदै आएको बा २० च ५२० नम्बरको कारसमेत कटुवालले कब्जा गरेको आरोप छ । ‘मैले चलाउने गरेको कार नियन्त्रणमा लिएर डर-त्रास देखाई साढे पाँच लाख रुपैयाँ उल्लेख गर्न लगाएर एक थान चेकसमेत लगे,’ पीडितले प्रहरीसमक्ष भनेका छन् ।

कटुवालले ह्वाट्स एप तथा म्यासेन्जरमार्फत पनि निरन्तर मानसिक तनाव र धम्की दिने गरेको उनको भनाइ छ । प्रहरीले कटुवालको सामाजिक सञ्जाल र पहुँचको आधारमा अरु व्यक्ति पनि पीडित बनेको हुनसक्ने आशंकामा अनुसन्धानको दायरा फराकिलो बनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप