विराटनगरमा प्रहरी चेकिङको क्रममा दुर्घटना: एक सामाजिक अभियन्ताको मृत्यु

काठमाडौं । विराटनगरमा प्रहरीले सवारी साधन जाँच गर्ने क्रममा भएको एक दर्दनाक मोटरसाइकल दुर्घटनामा परी एक सामाजिक अभियन्ताको मृत्यु भएको छ । सुनसरीको बर्जु गाउँपालिका-६ निवासी २८ वर्षीय पुष्पकुमार चौधरीको उक्त दुर्घटनामा ज्यान गएको हो ।

घटना गएराति करिब ८:२० बजे विराटनगर महानगरपालिका-४ स्थित दूधफारम चोकमा भएको थियो । जिल्ला प्रहरी कार्यालय, मोरङबाट खटिएको प्रहरी टोलीले ट्राफिक प्रहरीसहित सवारी जाँच गरिरहेको समयमा उक्त दुर्घटना हुन पुगेको हो ।

प्रत्यक्षदर्शीका अनुसार, प्रहरीले विराटनगरबाट नेमुवातर्फ जाँदै गरेको प्रदेश १-०२-००१ क ५१८९ नम्बरको मिनी ट्रकलाई जाँचका लागि रोकेको थियो । सोही दिशाबाट तीव्र गतिमा आउँदै गरेको प्रदेश १-०२-००४६ प ६४०१ नम्बरको मोटरसाइकल रोकिएको ट्रकको पछाडिको भागमा ठोक्किएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक चौधरीलाई तत्काल उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएको थियो । तर, उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक चौधरी एक सक्रिय सामाजिक अभियन्ताको रुपमा परिचित थिए । उनको निधनले स्थानीय स्तरमा शोक छाएको छ ।

प्रहरीले दुर्घटनामा संलग्न मिनी ट्रकका चालक मोरङको बुढीगंगा गाउँपालिका-१ का ३१ वर्षीय सन्तोषकुमार आचार्यलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान अगाडि बढाएको छ । 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री