नेपाल आयल निगमको डिजिटल छलाङ: कारोबार र भुक्तानी अब पूर्ण स्वचालित

काठमाडौं । नेपाल आयल निगम (एनओसी) ले आफ्नो सम्पूर्ण कारोबार प्रणालीलाई पूर्ण रूपमा स्वचालित (अटोमेसन) बनाउने भएको छ, जसले पेट्रोलियम पदार्थको खरिद, बिक्री-वितरण र भुक्तानी प्रक्रियामा एक नयाँ युगको सुरुवात गर्नेछ । ‘डिजिटल एनओसी’ को अवधारणा अन्तर्गत निगमले परम्परागत प्रणालीलाई विस्थापित गर्दै पारदर्शिता, चुस्तता र विश्वसनीयता सुनिश्चित गर्न यो कदम चालेको हो ।

निगमका अनुसार अब पेट्रोलियम वितरकहरूले आफूलाई चाहिने पेट्रोल, डिजेल, मट्टितेल वा हवाई इन्धनको माग गर्न डिपो धाउनुपर्ने छैन। उनीहरूले घरमै बसेर अनलाइन प्रणालीमार्फत माग पठाउन र सोको भुक्तानी समेत डिजिटल माध्यमबाट गर्न सक्नेछन्।

“हरेक दिन डिपो खुल्नेबित्तिकै हामी पेट्रोलियम पदार्थको माग आह्वान गर्छौं। वितरकहरूले अनलाइनबाटै माग गर्न र भुक्तानी गर्न सक्नुहुन्छ,” निगमका कार्यकारी निर्देशक डा. चण्डिका भट्टले भने, “यसले गर्दा खरिदकर्ता डिपोसम्म आइराख्नुपर्ने झन्झट हट्छ। डिपोमा माग प्राप्त हुनासाथ सोहीअनुसार ट्यांकरमार्फत तेल डेलिभरीका लागि निर्देशन दिइन्छ।”

फ्लो मिटरले अन्त्य गर्‍यो ठगीको आशंका

विगतमा तेलको परिमाणमा घटबढ भएको भन्दै निगममाथि लाग्दै आएको आरोपलाई नयाँ प्रविधिले पूर्ण रूपमा खण्डन गर्ने भएको छ। अब ट्यांकरमा तेल भर्दा परम्परागत ‘डिप रड’ ले नाप्ने चलनको अन्त्य गर्दै डिजिटल ‘फ्लो मिटर’ जडान गरिएको छ।

“फ्लो मिटरले तेलको परिमाण स्वचालित रूपमा यकिन गर्छ, यसमा तलमाथि हुने कुनै सम्भावना रहँदैन। जति भनिएको हो, त्यति नै परिमाण लोड हुन्छ,” डा. भट्टले दाबी गरे, “खरिदकर्ताले फ्लो मिटरको रिडिङ हेरेरै तेलको मात्रामा आश्वस्त हुन सक्छन्।” यो प्रणालीले हिसाबकिताब राख्न सहज बनाउनुका साथै ठगिने जोखिम शून्यमा झारेको उनको भनाइ छ।

हाल काठमाडौंको थानकोट, भैरहवा र अमलेखगञ्ज डिपोमा यो अटोमेसन प्रणाली सफलतापूर्वक लागू भइसकेको छ। चालु आर्थिक वर्षभित्रै अन्य सबै डिपोहरूमा पनि यो प्रविधि विस्तार गरिने निगमको लक्ष्य छ।

भुक्तानीमा ‘नेपाल पे’ सँग सहकार्य, ढुवानीकर्तालाई पनि सहज

निगमले कारोबार र भुक्तानीलाई थप सहज र प्रविधिमैत्री बनाउन ‘नेपाल पे’ सँग सहकार्य गर्ने भएको छ। वितरकहरूबाट लिने भुक्तानी मात्र नभई पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर व्यवसायीहरूको भाडा समेत अब डिजिटल माध्यमबाटै सिधै उनीहरूको बैंक खातामा पठाइनेछ।

“अब कुनै पनि ढुवानीकर्ता भुक्तानी लिन निगमसम्म आउनुपर्ने वातावरण अन्त्य हुँदैछ,” कार्यकारी निर्देशक भट्टले भने, “उहाँहरूले कुन रुटमा, कति समय सेवा दिनुभयो, त्यसको आधारमा प्रणालीले हिसाब गरी भुक्तानी सिधै बैंक खातामा पठाउँछ।”

यो प्रणाली नेपाल सरकारले प्रवर्द्धन गरिरहेको राष्ट्रिय भुक्तानी प्रणाली (नेसनल पेमेन्ट स्विच) अन्तर्गत नेपाल क्लियरिङ हाउसले सञ्चालन गर्दै आएको ‘नेपाल पे’ मार्फत गरिनेछ।

निगमको यो महत्त्वाकांक्षी योजनाले डिपो, वितरक र ढुवानीकर्तालाई मात्र नभएर निकट भविष्यमा खुद्रा बिक्रेता अर्थात् पेट्रोल पम्पहरूलाई समेत समेट्नेछ। यससँगै नेपाल आयल निगम खरिददेखि भुक्तानीसम्म पूर्ण डिजिटल प्रविधिमा रूपान्तरण हुनेछ, जसले मानवीय श्रम र खर्च कटौती गर्दै समग्र सेवा प्रवाहलाई थप विश्वसनीय र प्रभावकारी बनाउने निश्चित छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री