संकट चिर्दै रिलायन्स स्पिनिङ मिल्सको शक्तिशाली पुनरागमन, वार्षिक मुनाफा ४२ प्रतिशतले बढ्यो

  • एकै वर्षमा कमायो १ अर्ब ४८ करोड, निर्यात र रोजगारीमा अब्बल

काठमाडौं । विश्वव्यापी कोभिड महामारी र ऊर्जा संकटजस्ता गम्भीर चुनौतीहरूलाई पछि पार्दै देशको अग्रणी धागो उद्योग रिलायन्स स्पिनिङ मिल्सले शक्तिशाली पुनरागमन गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा ४२ प्रतिशतको उल्लेख्य मुनाफा वृद्धि गर्दै उद्योग पुनः लयमा फर्किएको संकेत दिएको हो ।

कम्पनीले सोमबार सार्वजनिक गरेको वार्षिक वित्तीय विवरण अनुसार, समीक्षा अवधिमा कुल १ अर्ब ४८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्ष २०८०/८१ को ८६ करोड ५० लाख रुपैयाँको तुलनामा झण्डै ४२ प्रतिशतले बढी हो । नाफासँगै कम्पनीको व्यापार कारोबारमा पनि आकर्षक वृद्धि देखिएको छ । गत आर्थिक वर्षमा कम्पनीले १० अर्ब २३ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको छ, जुन अघिल्लो वर्ष ९ अर्ब २० करोड रुपैयाँ थियो ।

सुनसरीको दुहबी र खनारमा दुईवटा विशाल कारखाना रहेको रिलायन्स स्पिनिङ मिल्स नेपालको सबैभन्दा ठूलो धागो उत्पादक हो । २०५४ सालमा स्थापित यस उद्योगले कपास, पोलिस्टर, भिस्कोज र एक्रेलिकजस्ता विभिन्न प्रकारका धागो उत्पादन गरी स्वदेशी बजारको माग पूरा गर्नुका साथै भारत र टर्कीजस्ता प्रमुख अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्दै आएको छ । कम्पनीले वार्षिक करिब ५ करोड अमेरिकी डलर बराबरको निर्यात गर्दै देशको वैदेशिक मुद्रा आर्जनमा महत्वपूर्ण टेवा पुर्‍याइरहेको छ ।

यो सफल पुनरागमनको नेतृत्व युवा उद्यमी अक्षय गोल्यानले गरिरहेका छन् । गोल्यानको कुशल व्यवस्थापन र रणनीतिक दृष्टिकोणले गर्दा नै उद्योगले संकटको समयमा पनि आफ्नो बजार र मुनाफा सुरक्षित गर्न सफल भएको हो । उद्योग वाणिज्य क्षेत्रमार्फत राष्ट्रिय अर्थतन्त्रमा पुर्‍याएको योगदानको कदर गर्दै नेपाल सरकारले गत असारमा गोल्यानलाई प्रतिष्ठित ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति’ (सीआईपी) सम्मानबाट विभूषित गरेको थियो ।

सुरुवाती दिनमा ९ हजार स्पिन्डल क्षमताबाट यात्रा थालेको यस उद्योगले हाल आफ्नो क्षमता विस्तार गरी १ लाख २ हजार ८२४ स्पिन्डल पुर्‍याएको छ । उद्योगको यो विशाल संरचनाले देशको औद्योगिक क्षमतालाई मात्र दर्शाउँदैन, यसले हजारौँलाई रोजगारीको अवसर पनि सिर्जना गरेको छ । हाल उद्योगमा १,३०० महिलासहित ४,००० भन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन्, जसले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री