-
अटोमोबाइल क्षेत्रले अर्थतन्त्र र रोजगारीमा महत्त्वपूर्ण योगदान पुर्याएको अध्यक्ष चौधरीको दाबी
काठमाडौं । नेपाली अटोमोबाइल क्षेत्रको बहुप्रतिक्षित प्रदर्शनी, १७औं संस्करणको ‘नाडा अटो शो’, मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा भव्यताका साथ सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक विशेष समारोहबीच उक्त अटो शोको उद्घाटन गरेका हुन् ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा सुरु भएको यो प्रदर्शनीले भविष्यमुखी प्रविधि तथा सवारी साधनलाई विशेष प्राथमिकता दिएको छ । यस पटकको शोमा सबैको ध्यान खिच्न सफल मुख्य आकर्षणका रूपमा ‘उड्ने कार’ रहेको छ, जसलाई अवलोकन गर्न दर्शकको ठूलो भीड लागेको छ ।
चिनियाँ कम्पनीहरुको सहकार्यमा निर्मित यो ‘फ्लाइङ ट्याक्सी’ ले नेपाली अटोमोबाइल क्षेत्रमा भविष्यको सम्भावनालाई प्रस्तुत गरेको छ । यसका साथै, प्रदर्शनीमा राखिएका मानवाकृत रोबोट (Humanoid Robot) पनि अवलोकनकर्ताका लागि अर्को प्रमुख आकर्षण बनेको छ ।
यस संस्करणको अटो शोमा १९ वटा चारपांग्रे, १३ लाइट कमर्सियल तथा ५ दुईपांग्रे सवारी ब्रान्डले सहभागिता जनाएका छन् । यसका अतिरिक्त, ३५ भन्दा बढी लुब्रिकेन्ट, टायर, स्पेयर पार्ट्स, ब्याट्री तथा बैंक र वित्तीय संस्थाहरूको पनि सक्रिय सहभागिता रहेको छ। प्रदर्शनीमा नयाँ प्रविधि मात्र नभएर पुराना क्लासिक गाडीहरूको सम्मोहन पनि छाएको छ ।
‘भिन्टेज मोटर शो’ अन्तर्गत मोरिस माइनर, प्युजो, मिनी कुपर, टोयोटा आरटी, मर्सिडिज बेन्ज र टोयोटा कोरोला लगायत १२ वटा पुराना गाडीहरू प्रदर्शनमा राखिएको छ, जसले इतिहास र वर्तमानको सुन्दर संयोजन प्रस्तुत गरेको छ ।
उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले नेपालमा आधुनिक प्रविधिको प्रयोग बढ्दै गएको र यस्ता प्रदर्शनीले भविष्यको यातायातका लागि मार्गप्रशस्त गर्ने बताए । उनले उड्ने कारको प्रदर्शनलाई भविष्यको यातायातको संकेतका रूपमा अर्थ्याए ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष करण चौधरीले नेपालको अटोमोबाइल क्षेत्रले देशको अर्थतन्त्र र रोजगारीमा महत्त्वपूर्ण योगदान पुर्याएको बताएका छन् । मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको १७ औं संस्करणको नाडा अटो शोको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले यो क्षेत्रले १० लाखभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको र ३ हजारभन्दा बढी व्यवसायीलाई संगठित गरेको दाबी गरे ।
उनले नाडा अटो शो केवल सवारीसाधनको प्रदर्शनी नभई समग्र अटोमोबाइल क्षेत्रको एक प्रमुख व्यावसायिक थलो भएको बताए । “नेपालमा वार्षिक बिक्री हुने कुल गाडीमध्ये करिब ४० प्रतिशत यही थलोबाट बुकिङ हुने गरेको छ,” उनले भने, “यसले हाम्रो रोजगार र राजस्वमा ठूलो सहयोग पुर्याउँछ ।”
अध्यक्ष चौधरीले युवा शक्ति पलायन देशको प्रमुख चुनौती भएको उल्लेख गर्दै नाडाले सीप विकास र रोजगारी सिर्जनामार्फत यसलाई रोक्न पहल गरिरहेको बताए । “हामी सीप पनि दिन्छौं, रोजगार पनि दिन्छौं,” उनले भने, “युवालाई देशमै अवसर छ भन्ने विश्वास दिलाउन हामी सरकारसँग सहकार्य गर्न तयार छौं ।”
मंगलबारदेखि सुरु भएको यो अटोमोबाइलको महाकुम्भ आगामी भदौ ८ गतेसम्म चल्नेछ । आयोजकले यस पटक १ लाखभन्दा बढी अवलोकनकर्ता भित्र्याउने लक्ष्य राखेको छ ।



