नाडा अटो शोमा बिवाइडीको नयाँ कम्प्याक्ट एसयुभी ‘एटो टू’ सार्वजनिक, मूल्य ४३ लाख ९९ हजारदेखि सुरु

काठमाडौं । विद्युतीय सवारी साधन निर्माता कम्पनी बिवाइडीले बहुप्रतिक्षित नाडा अटो शो २०२५ मा आफ्नो नयाँ कम्प्याक्ट एसयुभी ‘एटो टू’ सार्वजनिक गरेको छ । आकर्षक डिजाइन र अत्याधुनिक प्रविधिले सुसज्जित यस गाडीको सुरुवाती मूल्य ४३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

बिवाइडीको आधिकारिक वितरक सिमेक्स इंकले एटो टूलाई कम्पनीको लोकप्रिय मोडल डल्फिन र एटो थ्रीको बिचको सेग्मेन्टमा स्थापित गरेको छ । बिवाइडीकी प्रबन्ध निर्देशक यमुना श्रेष्ठका अनुसार, यो गाडीले कम्प्याक्ट एसयुभीको बजारमा नयाँ आयाम थप्नेछ । “एटो टू आकारमा एटो थ्रीभन्दा सानो भए पनि यसको भित्री डिजाइन र अनुभवले पूर्ण एसयुभीको विशेषता बोकेको छ,” उनले भनिन् ।

मुख्य विशेषता र पर्फर्मेन्स

एटो टू बिवाइडीको अत्याधुनिक ई-प्लेटफर्म ३.० मा निर्माण गरिएको छ र यसमा विश्वकै सबैभन्दा सुरक्षित मानिने ‘ब्लेड ब्याट्री’ प्रविधिको प्रयोग गरिएको छ । गाडीमा १०० किलोवाट क्षमताको मोटर र ५१.१३ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ, जसले एक पटकको फुल चार्जमा ३४५ किलोमिटर (डब्लुएलटिपी) को रेन्ज प्रदान गर्छ । कम्पनीका अनुसार नेपालको सडक अवस्था र ट्राफिकका कारण वास्तविक रेन्जमा सामान्य घटबढ हुन सक्छ ।

यो कम्प्याक्ट एसयुभीले ६५ किलोवाटको डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ, जसबाट ब्याट्रीलाई ३०% देखि ८०% सम्म चार्ज हुन केवल २८ मिनेट लाग्छ । यसमा भेइकल-टु-लोड (V2L) प्रविधि पनि उपलब्ध छ, जसले गाडीबाट अन्य उपकरण चार्ज गर्न सुविधा दिन्छ ।

नाडा अटो शो विशेष अफर र फाइनान्स सुविधा

नाडा अटो शोलाई लक्षित गर्दै कम्पनीले विशेष अफर सार्वजनिक गरेको छ । शो अवधिभर एटो टू खरिद गर्ने ग्राहकले नगद छुट नपाए पनि गाडीको मोटर र ब्याट्रीमा १० वर्षको विस्तारित वारेन्टी पाउनेछन् । सामान्य अवस्थामा कम्पनीले ८ वर्षको वारेन्टी प्रदान गर्दै आएको छ ।

गाडी खरिदलाई सहज बनाउन कम्पनीले नबिल बैंकसँग सहकार्य गरेको छ । ग्राहकले नबिल बैंकमार्फत ७ वर्षको भुक्तानी अवधिमा ८.२५ प्रतिशतको स्थिर ब्याजदरमा ऋण सुविधा प्राप्त गर्न सक्नेछन् ।

स्टलमा अन्य आकर्षण

अटो शोमा बिवाइडीले एटो टूका साथै आफ्नो प्रिमियम सेडान ‘सिल’ र लोकप्रिय ह्याचब्याक ‘एटो वान’ (डल्फिन) पनि प्रदर्शनमा राखेको छ । कम्पनीले अवलोकनकर्ताहरूलाई बिवाइडीको स्टलमा आएर नयाँ प्रविधि र गाडीहरू अवलोकन गर्न तथा हालको विशेष अफरको लाभ उठाउन आग्रह गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री