काठमाडौं । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर अमेरिकाको व्यक्तिगत भ्रमणमा रहेकै बेला सत्तारुढ गठबन्धनले उनीविरुद्ध महाभियोग प्रस्ताव ल्याउने तयारी तीव्र पारेको छ । मानव तस्करीको आरोपमा मुछिएकी मगरलाई पदमुक्त गर्न सत्ताका प्रमुख घटक नेपाली कांग्रेस र नेकपा (एमाले) ले हस्ताक्षर संकलन समेत सुरु गरेका छन् ।
महाभियोग प्रस्तावलाई अघि बढाउन कांग्रेस र एमालेले आकस्मिक रूपमा संसदीय दलको बैठक बोलाएका छन् । उच्च स्रोतका अनुसार, यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सहमति जुटिसकेको छ, जसपश्चात् दुवै दलले आफ्ना सांसदहरूको हस्ताक्षर संकलन थालेका हुन् ।
पछिल्लो समय मानव तस्करीको गम्भीर आरोप लागेपछि उपसभामुख रानाले राजीनामा दिनुपर्ने दबाब बढेको थियो । तर, उनले पद नछाड्ने अडान लिएपछि सत्तारुढ दलहरू महाभियोगमार्फत उनलाई हटाउने निष्कर्षमा पुगेका हुन् । यद्यपि, यसको पछाडि संवैधानिक परिषदमा बहुमत पुर्याउने राजनीतिक उद्देश्य मुख्य रहेको विश्लेषण गरिएको छ ।
यतिबेला उपसभामु-ख मगर भने संयुक्त राज्य अमेरिकामा छिन् । उनको सचिवालयका अनुसार, उनी गत साउन ३० गते १० दिने व्यक्तिगत भ्रमणका लागि अमेरिका प्रस्थान गरेकी हुन् । सत्तारुढ दलहरूले उनकै अनुपस्थितिमा यो प्रक्रिया अघि बढाएका हुन् ।
उपसभामुखलाई हटाउने सत्ता गठबन्धनको तयारीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र खैलाबैला मच्चिएको छ । घटनाको जानकारी पाएसँगै रास्वपाका नेताहरू छलफलका लागि धमाधम पार्टी कार्यालयमा भेला हुन थालेका छन् ।




