विपिनको रिहाइका लागि सरकार हरसम्भव पहलमा छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्यालेस्टाइनी लडाकु समूह हमासद्वारा दस महिनाभन्दा बढी समयदेखि बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइका लागि उनको परिवारले इजरायलको सर्वोच्च राजनीतिक नेतृत्वसमक्ष अपील गरेको छ । छोराको खोजीमा इजरायल पुगेकी आमा पद्मा र बहिनी पुष्पा जोशीले त्यहाँका राष्ट्रपति इसाक हरजोग र संसद् अध्यक्ष अमिर ओहानासँग भेट गरी विपिनको जीवन रक्षाका लागि पहल गरिदिन अनुरोध गरेका हुन् ।

यो उच्चस्तरीय भेटवार्ताको पुष्टि गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विपिनको परिवारलाई इजरायल सरकारसँग भेटाउन नेपाली दूतावासले समन्वय गरेको जानकारी दिएका छन् । सोमबार बिहान सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न सरकारले हरसम्भव कूटनीतिक प्रयास जारी राखेको प्रतिबद्धता व्यक्त गरे । ‘विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रका दूतावासमार्फत निरन्तर संवाद गरिरहेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘हमासको नियन्त्रणमा रहेका नेपाली नागरिकको रिहाइको पहल गर्नु सरकारको प्रमुख जिम्मेवारी हो ।’

उनले यसअघि मध्यपूर्वमा शान्ति स्थापनाका लागि पहल गरिरहेका टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल-सिसीसँग समेत आफूले टेलिफोन संवाद गरी विपिनको रिहाइका लागि ध्यानाकर्षण गराएको स्मरण गराए । ‘सरकार विपिनको सुरक्षालाई प्राथमिकता दिँदै हरसम्भव पहलमा जुटिरहेको छ,’ उनले थपे ।

१० महिनादेखि अज्ञात छन् विपिन
कञ्चनपुरका विपिन सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत २०८० भदौमा इजरायल गएका थिए । तर, गत वर्ष सन् २०२३ अक्टोबर ७ (२०८० असोज २०) मा हमासले इजरायलमाथि आक्रमण गर्ने क्रममा उनलाई अन्य इजरायली नागरिकसँगै बन्धक बनाएर गाजा लगेको थियो । त्यसयता उनी परिवारको सम्पर्कमा छैनन् । उनी हमासकै कब्जामा रहेको विश्वास गरिए पनि उनको अवस्थाबारे कुनै आधिकारिक जानकारी प्राप्त हुन सकेको छैन ।

छोराको अवस्था अज्ञात रहेपछि उनको रिहाइका लागि दबाब दिन आमा पद्मा र बहिनी पुष्पा गत साउन २६ गते इजरायल पुगेका हुन् । त्यहाँ उनीहरूले विपिनको रिहाइका लागि विभिन्न पक्षसँग हारगुहार गरिरहेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री