काठमाडौं । ब्रिटिस काउन्सिल नेपालले गत साउन ३० मा आईईएलटीएससम्बन्धी साझेदार सम्मेलन (पार्टनर समिट)मा विशेष कार्यक्रम आयोजना सम्पन्न गरेको छ ।
युवा नेपाली विद्यार्थी र पेसागत व्यावसायिक व्यक्तिलाई अन्तर्राष्ट्रिय शिक्षा र करिअर निर्माणको अवसरहरूमा पहुँच दिलाउन सञ्चालित संस्थाको काम र गतिविधिलाई उत्सवको रूपमा मनाउन आयोजित कार्यक्रममा आईईएलटीएससम्बन्धी थुप्रै साझेदारलाई सहभागी गराइएको थियो ।
कार्यक्रमको सफल आयोजनाले ब्रिटिस काउन्सिल र आईईएलटीएससम्बन्धी साझेदारबीचको बलियो सम्बन्धलाई प्रतिबिम्वित गरेको जनाएको छ ।
कार्यक्रमका अवसरमा अप्रिल २०२४ देखि मार्च २०२५ सम्म आईईएलटीएसको जाँचमा असाधारण समर्पण र योगदान दिएका उत्कृष्ट साझेदारहरूलाई सम्मान गरिएको थियो ।
विभिन्न विधामा गरी २० वटा अवार्ड प्रदान गरिएको थियो । जसमध्ये उत्कृट कार्यसम्पादन गर्ने संस्था (प्लेटिनम पार्टनर) को रूपमा अर्बिट मेडिकल इन्ट्रान्स प्राइभेट लिमिटेड र उत्कृष्ट कार्यसम्पादन गर्ने संघको रूपमा इक्यानलाई सम्मान गरियो ।
ग्लोबल च्यानल पार्टनर अभियानको शुभारम्भ
ब्रिटिस काउन्सिल नेपालले आईईएलटीएसका व्यावसायिक साझेदारलाई सम्मान र पुरस्कृत गर्न ग्लोबल च्यानल पार्टनर अभियान शुभारम्भ गरेको छ । यस अभियानले आईईएलटीएसका लागि सबैभन्दा बढी संख्याका विद्यार्थी दर्ता गर्ने संस्थालाई मात्र नभई हरेक वर्ष क्रमशः उपलब्धि हासिल गर्दै जाने उत्कृष्ट संस्थाले समेत सम्मान र पुरस्कार जित्न सक्ने निष्पक्ष अवसर हरेकलाई प्रदान गर्ने लक्ष्य लिएको छ । यसको अर्थ भनेको ठूला र साना दुवै साझेदारले त्यसका लागि प्रतिस्पर्धा गर्न सक्नेछन् ।
उत्कृष्ट कार्यसम्पादन गर्ने साझेदारहरूलाई पूर्णरूपमा आर्थिक सहायता प्रदान गरी संयुक्त अधिराज्यको लन्डनस्थित ब्रिटिस काउन्सिलको मुख्यालयमा आयोजित समापन समारोहमा सहभागी गराइने भएको छ । त्यसपछि संयुक्त अधिराज्यको शैक्षिक भ्रमणमा समेत संलग्न गरिनेछ ।
यसैबीच, ब्रिटिस काउन्सिल, टर्किस एयरलाइन्स, पठाओ र सफारीबीचको सहकार्यमा उपहार अभियानको तेस्रो संस्करण (थर्ड सिजन) शुभारम्भ भएको घोषणा गरेको छ ।
उक्त सहकार्यअनुसार टर्किस एयरलाइन्स आधिकारिक एयरलाइन्स साझेदार, पठाओ आधिकारिक यातायात साझेदार र सफारी आधिकारिक लगेज साझेदार भएका छन् । नयाँ सिजनमा जाँच दिने विद्यार्थीहरूले जाँच भएको हरेक दिन, हरेक साता र हरेक महिनामा उपहार जित्न सक्नेछन् भने अन्तिममा बम्पर उपहारको समेत व्यवस्था गरिएको छ ।




