काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले बैंकिङ्ग सम्पत्ति, गैर-बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी उपलब्ध गराउने अनलाइन पोर्टल सार्वजनिक गरेको छ ।
बैंकका अनुसार, अब लिलाममा बिक्रीका लागि राखिएका सम्पत्तिहरूको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा र लोकेशनसहितको विवरण अनलाइनमार्फत सजिलै हेर्न सकिनेछ ।
यसका लागि ग्राहकहरूले लिलामसम्बन्धी प्रकाशनमा रहेको QR कोड स्क्यान गरी वा सिधै https://auctionassistance.nicasiabank.com लिंकमा गएर पोर्टलमा पहुँच प्राप्त गर्न सक्नेछन् ।
पोर्टलमा रहेको सम्पत्ति विवरण हेरेपछि थप जानकारी आवश्यक परेमा, त्यही पृष्ठमा रहेको म्यासेज बक्समा आफ्नो नाम, ईमेल, मोबाइल नम्बर र ठेगाना राखी सोधपुछ गर्न सकिने सुविधा पनि राखिएको छ ।
बैंकले सञ्चालनमा ल्याएको यो पोर्टलमा नियमित रूपमा लिलामी सम्पत्ति तथा सम्बन्धित सूचना अद्यावधिक गरिने जानकारी दिँदै, इच्छुक ग्राहकहरूले यस प्रणालीबाट सहज, पारदर्शी र डिजिटल माध्यमबाट जानकारी प्राप्त गरी लाभ लिन सक्ने विश्वास व्यक्त गरेको छ ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाका अनुसार, यो डिजिटल प्रवृत्ति अपनाउँदै बैंकले ग्राहक सेवामा थप आधुनिकता र पारदर्शिता ल्याउने प्रयास गरेको हो ।




