काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानी प्रवेशको मुख्य नाका नौबिसे-नागढुंगा सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको बताउँदै यसलाई छिट्टै सञ्चालनमा ल्याएर नागरिकले भोग्दै आएको कष्ट अन्त्य गरिने बताएका छन् । आइतबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले आम नागरिकलाई आश्वस्त पार्दै सुरुङमार्ग सञ्चालनपछि नागढुंगाबाट ओहोरदोहोर गर्दा हुने घण्टौँको जाम र सास्ती समाप्त हुने विश्वास व्यक्त गरेका हुन् ।
हालसम्म ९३ प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको यो राष्ट्रिय गौरवको आयोजना अबको केही महिनाभित्रै सञ्चालनमा आउने तयारी भइरहेको छ । आयोजनाका अनुसार आगामी पुस-माघसम्ममा सुरुङमार्ग सर्वसाधारणका लागि पूर्ण रूपमा खुला गर्ने लक्ष्य राखिएको छ । निर्माण कम्पनीले आगामी कात्तिक ७ गतेसम्ममा आयोजना हस्तान्तरण गर्ने लक्ष्य राखे पनि सुरुङ सञ्चालनका लागि आवश्यक परीक्षण, तालिम र हस्तान्तरण प्रक्रियाका लागि थप समय लाग्ने देखिएको हो ।
यद्यपि, सरकारले दशैंको समयमा उपत्यकाबाट बाहिरिने सवारीको चापलाई ध्यानमा राख्दै परीक्षणका रूपमा सुरुङमार्ग सञ्चालन गर्ने तयारीसमेत गरेको छ । प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘नौबिसे-नागढुङ्गा सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ। यसलाई छिट्टै सञ्चालनमा ल्याएपछि नागढुङ्गाबाट ओहोरदोहोर गर्दा हुने कष्ट अन्त्य हुने छ ।’
मन्त्रिपरिषद्द्वारा दस्तुर निर्धारण
यसैबीच, सरकारले सुरुङमार्ग प्रयोग गरेबापत लाग्ने शुल्कसमेत निर्धारण गरिसकेको छ । गत साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले सवारीसाधनको प्रकारअनुसार फरक–फरक दस्तुर तोकेको हो । तोकिएको दस्तुरअनुसार सुरुङमार्ग हुँदै काठमाडौं भित्रिँदा र बाहिरिँदा फरक-फरक शुल्क लाग्नेछ ।
काठमाडौं प्रवेश गर्दा कार, जीप तथा भ्यानले ६५ रुपैयाँ तिर्नुपर्नेछ भने बाहिरिँदा ६० रुपैयाँ लाग्नेछ । त्यसैगरी, मिनिबस र मिनिट्रकले काठमाडौं आउँदा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ तिर्नुपर्नेछ । ठूला बस तथा ट्रकका लागि प्रवेश शुल्क २६० र बाहिरिने शुल्क २०० रुपैयाँ तोकिएको छ । भारी उपकरणका लागि भने काठमाडौं भित्रिँदा ६०० र बाहिरिँदा २५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । काठमाडौं प्रवेश गर्दा उकालो बाटो पर्ने र इन्धन बढी खपत हुने भएकाले दस्तुर बढी तोकिएको र बाहिरिँदा ओरालो पर्ने हुँदा कम शुल्क लाग्ने व्यवस्था गरिएको बताइएको छ ।




