प्रधानमन्त्री ओलीलाई भ्रमणको निम्तो दिन भारतीय विदेश सचिव नेपाल पुग्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको तयारीलाई अन्तिम रूप दिन भारतीय विदेश सचिव विक्रम मिश्री आज (आइतबार) काठमाडौं आउँदै छन् । परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उनको भ्रमणबारे औपचारिक जानकारी दिएको हो ।

परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल आउन लागेका मिश्रीले आफ्नो दुई दिने बसाइका क्रममा उच्चस्तरीय भेटवार्ता गर्नेछन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री आरजु राणा देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ ।

भ्रमणको मुख्य उद्देश्य प्रधानमन्त्री ओलीको भारत भ्रमणको मिति तय गर्नु र भ्रमणका एजेन्डाहरूमाथि पूर्वतयारी गर्नु रहेको परराष्ट्र स्रोतले जनाएको छ । मिश्रीले प्रधानमन्त्री ओलीसँगको भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट भारत भ्रमणको औपचारिक निमन्त्रणापत्र हस्तान्तरण गर्नेछन् ।  

यसका साथै, दुई देशका परराष्ट्र सचिवबीच द्विपक्षीय बैठक पनि हुनेछ । उक्त बैठकमा कनेक्टिभिटी, विकास सहयोग, पारस्परिक हितका साथै नेपाल-भारत साझेदारीका विविध पक्षमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओली भदौ ३१ गते भारत भ्रमणमा जाने तयारी भइरहेको छ, यद्यपि भ्रमणको औपचारिक घोषणा भने भइसकेको छैन । विदेश सचिव मिश्री असोज १ गते स्वदेश फर्किने कार्यक्रम छ । 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री