काठमाडौँ । मुक्तिनाथ विकास बैंकले नेपालको विकास बैंकिङ इतिहासमा एक ऐतिहासिक कीर्तिमान कायम गरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ अर्ब ५३ करोड रुपैयाँ खुद नाफा आर्जन गर्दै बैंक डेढ अर्बभन्दा बढी नाफा कमाउने नेपालकै पहिलो विकास बैंक बन्न सफल भएको हो ।
चुस्त व्यवस्थापकीय प्रणाली र आक्रामक व्यवसाय विस्तारको रणनीति अपनाएको बैंकले समीक्षा अवधिमा अधिकांश वित्तीय सूचकहरूमा उत्कृष्ट प्रगति गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ अर्ब १७ करोड रुपैयाँ खुद नाफा कमाएको बैंकले यस वर्ष नाफामा ३०.६९ प्रतिशतको सानदार वृद्धि हासिल गरेको हो ।
बैंकको यो सफलता नाफामा मात्र सीमित छैन, लगानीकर्ताका लागि प्रतिफल क्षमतामा समेत ऐतिहासिक वृद्धि देखिएको छ । अघिल्लो वर्ष केवल २.७६ प्रतिशत रहेको बैंकको लाभांश वितरण क्षमता गत आर्थिक वर्षको अन्त्यसम्ममा २०.७५ प्रतिशत पुगेको छ । त्यसैगरी, बैंकको वितरणयोग्य मुनाफामा ६५१.१५ प्रतिशतको विशाल बढोत्तरी हुँदै १ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ, जसले लगानीकर्तालाई आकर्षक प्रतिफल वितरण गर्ने बलियो आधार प्रस्तुत गरेको छ ।
बैंकको सञ्चालन मुनाफा पनि १ अर्ब ७० करोडबाट बढेर २ अर्ब ३० करोड रुपैयाँ पुगेको छ भने खुद सञ्चालन आम्दानी ४ अर्ब ६१ करोड रुपैयाँ कायम भएको छ । समीक्षा अवधिमा बैंकले निक्षेप संकलन ६.९८ प्रतिशतले बढाएर १ खर्ब १७ अर्ब तथा कर्जा प्रवाह ६.१० प्रतिशतले वृद्धि गरी ९७ अर्ब ५१ करोड रुपैयाँ पुर्याएको छ ।
यद्यपि, बैंकको खराब कर्जा अनुपात अघिल्लो वर्षको २.३७ प्रतिशतबाट केही बढेर २.७५ प्रतिशत पुगेको छ, तथापि यो नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्रै छ । अर्कोतर्फ, बैंकले पूँजीको लागत (कस्ट अफ फण्ड) ६.५४ प्रतिशतबाट घटाएर ४.९० प्रतिशतमा सीमित गर्न सफल भएको छ, जसले बैंकको वित्तीय व्यवस्थापनको दक्षतालाई प्रमाणित गर्दछ ।
समीक्षा अवधिसम्ममा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १६.६९ रुपैयाँबाट उल्लेख्य रूपमा बढेर २१.८२ रुपैयाँ पुगेको छ । त्यसैगरी, बैंकको प्रतिसेयर नेटवर्थ १६९.९५ रुपैयाँ, मूल्य आम्दानी अनुपात १८.६० गुणा र तरलता अनुपात २५.५७ प्रतिशतजस्ता सबल वित्तीय सूचकहरूले बैंकको स्थिर र मजबुत अवस्थालाई दर्शाउँछ ।




