झापा । झापाको मेचीनगरमा २५० प्रजातिका चराको बासस्थान छ। यहाँ विश्वमै दुर्लभ मानिने राजधनेश, धनेश, जुरे रुप्पीलगायत विभिन्न प्रकारका चरा रहेका विगत तीन वर्षदेखि चराको अध्ययन गरिरहेका मेचीनगर–६ काँकडभिट्टाका देवेन्द्र खरेलले बताए।
धेरै चरा पाइने देशको सूचीमा नेपाल २२औँ स्थानमा पर्छ। नेपालमा ९०० प्रकारका चरा पाइन्छन्। जसमध्ये २५० प्रकारका चरा झापाको मेचीनगरमै पाइने खरेलले बताए।
चरा विशेषज्ञ खरेलका अनुसार मेचीनगर–३ मा रहेको बहुवन सामुदायिक वन र बेँसीबजार क्षेत्र चराको राजधानी नै हो। मेचीनगर–३ मा विश्वमै दुर्लभ राजधनेश पनि पाइएको छ भने रैथाने चराहरु भुँडीफोर गरुड, फिस्टो र बुङ्गे चरा हराउँदै गएको खरेलको भनाई छ। चराका लागि मेचीनगर अनुकूल बासस्थान भएकाले पाहुना चरा आउने क्रम पनि बढेको उनले बताए।
मेचीनगरलाई ‘चरा मार्न निषेधित क्षेत्र’ घोषणा गरेर चरा महोत्सव आयोजना गर्ने हो भने यहाँ विदेशी पर्यटक अध्ययन र अवलोकनका लागि आउने सम्भावना रहेको स्थानीयले बताएका छन्।
आगामी चैतसम्ममा मेचीनगरमा चराको फोटो प्रदर्शनी गरेर यहाँ पाइने चराका प्रजातिबारे जानकारी गराउने सोच खरेलले बनाएका छन्।
घुमुवा जातिले चराको सिकार गरेर खाने गरेकाले तत्काल मेचीनगरलाई चरा मार्न निषेधित क्षेत्र घोषणा गर्नुपर्नेमा विशेषज्ञ खरेलले बताए।




