लोडसेडिङको हल्ला निराधार, नेपालले ५ अर्ब नाफामा बिजुली बेचिरहेको छ: ऊर्जामन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले देशमा लोडसेडिङ भइरहेको भनेर फैलाइएका हल्लाहरू पूर्णतः निराधार रहेको दाबी गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले मुलुकले लोडसेडिङको अन्त्य मात्र नगरेर उल्टै वार्षिक करिब ५ अर्ब रुपैयाँ नाफा हुने गरी विद्युत् निर्यात गरिरहेको तथ्य प्रस्तुत गरे ।

मन्त्री खड्काले केही छिटफुट स्थानमा प्राविधिक कारणले आपूर्तिमा अवरोध आएको हुनसक्ने स्वीकार्दै देशभर विद्युत् आपूर्ति सहज र नियमित रहेको स्पष्ट पारे । ‘मुलुकका केही क्षेत्रबाहेक देशभर विद्युत् आपूर्ति सहज ढंगले भइरहेको छ,’ उनले भने, ‘विद्युत् विस्तार र आपूर्तिलाई थप प्रभावकारी बनाउन सरकार तीव्र गतिमा लागिपरेको छ ।’

आर्थिक तथ्याङ्क प्रस्तुत गर्दै उनले हाल नेपालले वार्षिक १७ अर्ब ७२ करोड रुपैयाँ बराबरको विद्युत् निर्यात गरिरहेको र १२ अर्ब ९२ करोड रुपैयाँको आयात भएको जानकारी दिए । ‘यस हिसाबले विद्युत् व्यापारबाट मात्रै मुलुकले करिब ५ अर्ब रुपैयाँ खुद मुनाफा आर्जन गरिरहेको छ,’ मन्त्री खड्काले भने ।

यसका साथै, उनले विद्युत् प्रणालीलाई थप दिगो र भरपर्दो बनाउन सरकारले वैकल्पिक ऊर्जाको विकास र प्रवर्द्धनमा समेत जोड दिइरहेको बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री