- सीएनआई प्रतिनिधि र राजदूत तुलाधरबीच भेट, रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा लगाउनेदेखि पर्यटन प्रवर्द्धनसम्मका विषयमा छलफल
काठमाडौँ । नेपाल र डेनमार्कबीचको द्विपक्षीय सम्बन्धलाई आर्थिक तथा व्यावसायिक आयामबाट थप सुदृढ बनाउने उद्देश्यले एक महत्त्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ । नेपाल उद्योग परिसंघ (सीएनआई) अन्तर्गतको ग्लोबल बिजनेस तथा डायस्पोरा समितिका सभापति चन्द्र टण्डन र डेन्मार्कका लागि नेपाली राजदूत महामहिम सुम्निमा तुलाधरबीच आर्थिक सहकार्यका विविध पक्षमा केन्द्रित रहेर गहन छलफल भएको हो ।
भेटका क्रममा डेनमार्कबाट नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (FDI) आकर्षित गर्ने र रेमिट्यान्सबाट प्राप्त पुँजीलाई उत्पादनशील क्षेत्र र प्रविधि हस्तान्तरणमा उपयोग गर्ने ठोस रणनीतिबारे विचार-विमर्श भयो । यसका लागि औपचारिक सञ्जाल स्थापना गरी सहकार्य गर्ने विषयमा दुवै पक्षले जोड दिएका छन् ।
त्यसैगरी, साहसिक पर्यटन, सांस्कृतिक सम्पदा र आध्यात्मिक केन्द्रका रूपमा नेपाललाई डेनमार्कमाझ एक प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न संयुक्त पहल गर्ने सहमति भएको छ । साथै, डेनिस बजारमा नेपाली उत्पादनहरूको पहुँच बढाउन र प्रवर्द्धन गर्न प्रभावकारी योजना बनाउने विषयमा पनि छलफल भयो ।
भेटमा डेनमार्कमा बसोबास गर्ने नेपाली समुदायका हकहितको संरक्षण र उनीहरूले भोग्नुपरेका समस्या समाधानका लागि राजदूतावासको भूमिकालाई थप प्रभावकारी बनाउने विषयले प्राथमिकता पायो । आगामी दिनमा नेपाल उद्योग परिसंघ र डेनमार्कस्थित नेपाली दूतावासबीच संस्थागत सहकार्यलाई थप बलियो बनाउने समझदारी बनेको छ ।




