झडपपछि राप्रपा युवा संगठन काठमाडौंको अधिवेशन स्थगित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को भ्रातृ संस्था राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौं जिल्ला अधिवेशन स्थगित भएको छ । धुम्बाराहीस्थित एक पार्टी प्यालेसमा अधिवेशन कार्यक्रम उद्घाटन नहुँदै अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवल शम्शेर राणा पक्षधरका युवाहरूबीच विवाद भएर हात हालाहाल भएको थियो ।

कार्यक्रममा अध्यक्ष लिङ्देन पनि पुगेका थिए । लिङ्देनकै अघि महामन्त्री राणा पक्षका युवाहरूले नाराबाजी गरेका थिए । त्यसपछि अध्यक्ष लिङ्देनले यस्तो अवस्थामा अधिवेशन हुन नसक्ने भन्दै स्थगित गरेका हुन् । हुलदंगा पार्टीलाई मान्य नहुने पनि उनले बताएका छन् । झडप निम्तिएपछि अध्यक्ष राजेन्द्र लिङदेन आक्रोशित बनेका छन् । उनले असन्तुष्ट पक्षका युवाहरूलाई बाहुबली प्रदर्शन नगर्न कडा चेतावनी दिए ।

उनले भने, ‘तपाई युवाहरू नै पार्टीको भविष्य हो । पार्टीको भविष्यसँग तपाई हाम्रो भविष्य गाँसिएको छ । तपाईहरू कसैको केटा होइन । हतियार होइन । मेरो आग्रह छ कसैलाई प्रक्रियामा चित्त बुझेको छ भने बन्द सत्रमा छलफल हुन्छ । प्रक्रियामा छलफल हुन्छ । चित्त नबुझेको कुराहरू छलफलबाट टुंगो लाग्छ । सहमति हुन नसके मतदान हुन्छ । तर गुण्डागर्दी र बाहुबली चल्दैन । त्यो काममा अग्रसर नहुन म आग्रह गर्छु ।’अधिवेशनस्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री