कर्णालीको आशा ‘जगदुल्ला’ जलविद्युत् आयोजना: एक वर्षको विवादपछि निर्माण सम्झौता

  • १२ अर्ब १८ करोडमा निर्माण सम्झौता, ५ वर्षभित्र १०६ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य

काठमाडौँ । कर्णाली प्रदेशको आर्थिक विकास र समृद्धिको सपनासँग जोडिएको महत्वपूर्ण जगदुल्ला जलविद्युत् आयोजनाले अन्ततः निर्माणको गति लिने भएको छ । बोलपत्र प्रक्रियामा देखिएको उल्झन र विवादका कारण करिब एक वर्ष ढिला भएको १०६ मेगावाट क्षमताको यो आयोजना निर्माणका लागि प्रवद्र्धक कम्पनी र निर्माण व्यवसायीबीच द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएसँगै निर्माणको ढोका खुलेको हो ।

आयोजनाको प्रवद्र्धक कम्पनी जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेड र निर्माण व्यवसायी जेसीई/एएनके जेभीबीच १२ अर्ब १८ करोड बराबरको निर्माण सम्झौता भएको हो । यो सम्झौतासँगै आयोजना निर्माणको मार्ग प्रशस्त भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सञ्जय सापकोटाले जानकारी दिए ।

कम्पनीले २०८१ जेठ २० गते सिभिल र हाइड्रोमेकानिकल संरचना निर्माणका लागि बोलपत्र आह्वान गरेको थियो । पहिलो पटकको प्रयासमा कुनै पनि कम्पनी छनोट हुन नसकेपछि दोस्रो पटकको सूचनामा सबैभन्दा कम रकम प्रस्ताव गर्ने जेसीई/एएनके जेभी छनोट भएको हो ।

बलियो वित्तीय व्यवस्थापन, स्वदेशी लगानी र प्रविधि

आयोजना निर्माणका लागि रु. २३ अर्ब लागत अनुमान गरिएको छ, जसमध्ये १६ अर्ब ऋण र ७ अर्ब स्वपूँजी (इक्विटी) मार्फत जुटाइएको छ । आयोजनाका लागि आवश्यक ऋण लगानीको वित्तीय व्यवस्थापन गत वर्ष नै नबिल बैंकको नेतृत्वमा भइसकेको छ ।

सहवित्तीयकरण सम्झौताअनुसार, नबिल बैंकले ४ अर्ब ४० करोड, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) र कर्मचारी सञ्चय कोषले समान ४/४ अर्ब, लक्ष्मी सनराइज बैंकले २ अर्ब र एभरेष्ट बैंकले १ अर्ब ५० करोड लगानी गर्नेछन् ।

नेपाल सरकारको अधिकांश स्वामित्व रहेको यो आयोजना ‘नेपालको पानी, जनताको लगानी’ अवधारणाअन्तर्गत अघि बढाइएको हो । यसको डिजाइन प्राधिकरणको सहायक कम्पनी एनईए इन्जिनियरिङले गरेकाले आयोजना पूर्णतः स्वदेशी लगानी र प्रविधिमा निर्माण हुन लागेको हो ।

आयोजनाको संरचना र उत्पादन लक्ष्य

डोल्पाको जगदुल्ला गाउँपालिकामा बाँध र मुड्केचुला गाउँपालिकामा भूमिगत विद्युत् गृह रहने यो आयोजनाबाट वार्षिक ६२३.३२ गिगावाट प्रतिघण्टा ऊर्जा उत्पादन हुनेछ । आयोजनाबाट उत्पादित विद्युत् १३२ केभी प्रसारण लाइनमार्फत प्रस्तावित बाफीकोट सबस्टेसनमा जोडिनेछ । निर्माण सुरु भएको पाँच वर्षभित्र विद्युत् उत्पादन थाल्ने लक्ष्य राखिएको छ ।

हालसम्म कुनै पनि ठूला आयोजना निर्माण चरणमा प्रवेश गर्न नसकेको कर्णाली प्रदेशका लागि जगदुल्लाको निर्माण सुरु हुनुलाई एक महत्त्वपूर्ण कोशेढुङ्गाका रूपमा हेरिएको छ । यस कम्पनीले १२० मेगावाटको जगदुल्ला ‘ए’ जलविद्युत् आयोजना समेत निर्माण गर्ने योजना बनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री