अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न चार बालबालिका भियतनाम प्रस्थान

  • ‘जुनियर मोडल इन्टरनेशनल’मा नेपाली कला-संस्कृति र पर्यटनको प्रवद्र्धन गर्ने लक्ष्य

काठमाडौँ । ‘जुनियर मोडल इन्टरनेशनल २०२५’ मा नेपालको झण्डा फहराउन चार जना प्रतिभाशाली बालबालिका भियतनाम प्रस्थान गरेका छन् । तासी नुर्वु शेर्पा, तोरेशा भण्डारी, सुहानी श्रेष्ठ र विपार्थ थापा मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भियतनामको दानाङ शहरतर्फ प्रस्थान गरेका हुन् ।

भियतनामको दानाङमा अगस्ट १३ देखि १८ सम्म आयोजना हुने यस प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगितामा विश्वका विभिन्न देशका बालबालिकाहरूको सहभागिता रहनेछ । नेपाली प्रतियोगीहरूले यस मञ्चमा आफ्नो प्रतिभा प्रदर्शन गर्नुका साथै नेपाली कला, संस्कृति र पर्यटनको प्रवद्र्धन गर्ने महत्वपूर्ण जिम्मेवारी बोकेका छन् ।

उनीहरूले आफ्नो प्रस्तुतिलाई प्रभावकारी बनाउन नेपालका ऐतिहासिक सम्पदा, मौलिक कला–संस्कृति र साहसिक पर्यटन झल्किने विशेष भिडियो सामग्री समेत तयार पारेका छन् । उक्त सामग्रीले प्रतियोगितामा सहभागी अन्य राष्ट्रका प्रतियोगी तथा दर्शकलाई नेपाल भ्रमणका लागि आकर्षित गर्ने विश्वास लिइएको छ ।

बालबालिकाको टोलीलाई अन्तर्राष्ट्रिय मोडल तथा फेसन प्रशिक्षक राज फैजुले साथ दिएका छन् । यी चारै जना बालबालिका रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीद्वारा आयोजित ‘मिलेनियम किड्स इन्टरनेसनल २०२५’ तथा ‘लिटिल प्रिन्स एण्ड प्रिन्सेस इन्टरनेशनल २०२५’ का विजेता हुन्, जसले उनीहरूलाई यो अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याएको हो । प्रतियोगितामा उनीहरूले प्रस्तुत गर्ने फेसनको अवधारणा डिजाइनर श्रीषा बैदारले तयार पारेकी हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री