काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । लगानीकर्ताको मनोबल कमजोर हुँदा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६.२२ अंकले ओरालो लाग्दै २,७९६.२४ को बिन्दुमा झरेको हो । यो शून्य दशमलव ९२ प्रतिशतको गिरावट हो ।
आइतबार बजार खुलेदेखि नै बिक्री चापमा परेको नेप्से परिसूचक अन्तिम समयसम्म पनि सम्हालिन सकेन । होटल तथा पर्यटन समूहबाहेक अन्य सबै उपसूचकहरू राताम्य हुँदा बजारमा निराशाजनक माहोल देखियो ।
आज कारोबारमा आएका १३ उपसमूहमध्ये १२ वटा नै घटेका छन् । होटल तथा पर्यटन समूह भने १.३२ प्रतिशतले बढ्दै लगानीकर्तालाई केही राहत दिन सफल भयो ।
सबैभन्दा धेरै लघुवित्त समूहमा १.४९ प्रतिशतको गिरावट आयो । यस्तै, वित्त समूह १.५३ प्रतिशत, जलविद्युत् समूह १.२६ प्रतिशत, जीवन बीमा १.०६ प्रतिशत र उत्पादनमूलक समूह १ प्रतिशतले घटेको छ । महत्वपूर्ण मानिएको बैंकिङ उपसूचक पनि ०.९४ प्रतिशतले ओरालो लाग्यो ।
बजार घटे पनि सिटी होटल लिमिटेडको सेयर मूल्यमा भने १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ । तर, सिक्लेस हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा भने नकारात्मक सर्किट लाग्यो, जसकारण कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाउनुपर्यो ।
आज दिनभर ३२३ कम्पनीका १ करोड ७६ लाख कित्ताभन्दा बढी सेयर ७८ हजार पटकभन्दा बढी किनबेच हुँदा कुल ६ अर्ब ९१ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबार रकमका आधारमा आज नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडले अग्रता लियो । कम्पनीको २६ करोड ७७ लाख रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भयो । यस्तै, कारोबार भएको सेयर संख्याका आधारमा सिद्धार्थ इक्विटी फन्ड अग्रस्थानमा रह्यो, जसको ६ लाख ६ हजारभन्दा बढी कित्ता सेयर किनबेच भयो ।




