काठमाडौं । एनएमबी बैंकले गत आर्थिक वर्ष २०८१/८२ मा आफ्नो खुद नाफामा ४६ प्रतिशतको उल्लेख्य वृद्धि गर्दै तीन अर्ब २८ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ। बैंकले सार्वजनिक गरेको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा नाफामा आकर्षक बढोत्तरी देखिएको हो। अघिल्लो वर्ष बैंकले दुई अर्ब २४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकको खुद ब्याज आम्दानी र अन्य सञ्चालन आम्दानीमा भएको सुधारले नाफा बढाउन महत्वपूर्ण भूमिका खेलेको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ११.४ प्रतिशतले बढेर ८ अर्ब २ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ७ अर्ब २१ करोड रुपैयाँ थियो। त्यसैगरी, बैंकले फि तथा कमिसनबाट हुने आम्दानी पनि १ अर्ब ७९ करोडबाट बढाएर २ अर्ब १८ करोड पुर्याएको छ।
नाफामा आएको यो उछालमा बैंकले जोखिम व्यवस्थापनका लागि छुट्याउने इम्पेरिमेन्ट चार्ज (सम्भावित कर्जा नोक्सानी व्यवस्था) मा गरेको कटौतीले पनि सघाएको छ। अघिल्लो आर्थिक वर्षमा २ अर्ब ३ करोड रुपैयाँ रहेको यस्तो व्यवस्था गत वर्ष ९५ करोडमा सीमित भएको थियो।
यससँगै बैंकको सञ्चालन मुनाफा पनि ६४.४६ प्रतिशतले वृद्धि भई ५ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ। उत्साहजनक नाफासँगै बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९० करोड रुपैयाँ कायम भएको छ। यसका आधारमा बैंकले आफ्ना सेयरधनीलाई १०.४० प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने क्षमता बनाएको छ। अघिल्लो वर्ष बैंकको वितरणयोग्य मुनाफा ९ करोड ३८ लाख रुपैयाँले ऋणात्मक थियो।
वित्तीय स्वास्थ्यको महत्वपूर्ण सूचक मानिने खराब कर्जा अनुपात भने केही बढेको छ। अघिल्लो वर्ष ३.४० प्रतिशत रहेको खराब कर्जा बढेर ४.७२ प्रतिशत पुगेको वित्तीय विवरणमा उल्लेख छ।
नाफामा भएको वृद्धिसँगै बैंकको प्रतिसेयर आम्दानीमा पनि राम्रो सुधार देखिएको छ। अघिल्लो वर्ष १२ रुपैयाँ २२ पैसा रहेको प्रतिसेयर आम्दानी बढेर १७ रुपैयाँ ८७ पैसा पुगेको छ। साथै, बैंकको प्रतिसेयर नेटवर्थ १७६ रुपैयाँ ८१ पैसा पुगेको छ।




