काठमाडौं – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला कारागार, भैरहवामा भेटवार्ता गरेका छन् । भेटपछि उनले लामिछानेलाई थुनामुक्त गरेर मुद्दा लड्न दिनुपर्ने वा उनको सांसद पद खारेज गरेर नयाँ निर्वाचनमा जानुपर्ने माग गरेका छन् ।
आफ्नो पार्टीको लुम्बिनी प्रदेशस्तरीय विस्तारित बैठकमा भाग लिन जाने क्रममा भट्टराईले बिहान कारागार पुगेर लामिछानेको अवस्थाबारे जानकारी लिएका थिए । भेटपछि पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै डा. भट्टराईले लामिछाने एक निर्वाचित सांसद भएकाले उनी भाग्ने वा प्रमाण नष्ट गर्ने कुनै सम्भावना नरहेको तर्क गरे । ‘एक जना सांसद र पार्टी सभापति भागेर कहाँ जान्छ र? प्रमाण नष्ट गर्ने सम्भावना पनि छैन,” उनले भने, “त्यसैले उहाँलाई बाहिरै राखेर मुद्दाको सामना गर्न दिनुपर्छ ।’
उनले यस विषयमा सभामुखलाई समेत ध्यानाकर्षण गराएको खुलासा गरे । ‘मैले सभामुखलाई पनि भनेको छु, कि उहाँलाई जमानतमा छाडेर जनताको काम गर्न दिनुस्, होइन भने सांसद पद खारेज गरेर नयाँ चुनाव गराउनुस्,’ भट्टराईले भने ।
भट्टराईले कारागारभित्र लामिछानेलाई पत्रपत्रिका पढ्न नदिइएको र साँघुरो कोठामा एक्लै राखिएको भन्दै आपत्ति जनाए । ‘हामी पञ्चायतकालमा जेल बस्दा त पढ्न पाउँथ्यौं, तर अहिले सूचनाको युगमा एक जना सांसदलाई पत्रपत्रिकाबाट वञ्चित गरिएको छ,’ उनले भने, ‘यो मानवोचित व्यवहार भएन । यस विषयमा म माथिल्लो निकायमा कुरा राख्छु ।’




