काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनी आगामी भदौ १ गते काठमाडौं आउन लागेका हुन् । यो भ्रमणलाई प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको तयारीका रूपमा हेरिएको छ, जसले दुई देशबीचको उच्चस्तरीय द्विपक्षीय सम्बन्धलाई थप गति दिने अपेक्षा गरिएको छ ।
नेपालमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन भएपछि भारतबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो । भ्रमणका क्रममा विदेश सचिव मिश्रीले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा लगायतका उच्चपदस्थ सरकारी अधिकारी तथा राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
यस भ्रमणको मुख्य उद्देश्य प्रधानमन्त्री ओलीको भदौ अन्तिम साता हुने भनिएको भारत भ्रमणको पूर्वतयारी र एजेन्डामाथि छलफल गर्नु रहेको बताइएको छ । प्रधानमन्त्री कार्यालय स्रोतले साउनको सुरुवातमा प्रधानमन्त्री ओलीको भारत भ्रमण भदौ ३१ मा हुन सक्ने संकेत गरेको थियो । विदेश सचिव मिश्रीको भ्रमणले सोही भ्रमणको मिति र विस्तृत कार्यसूचीलाई अन्तिम रूप दिन सघाउने विश्वास गरिएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार, विदेश सचिवस्तरीय बैठकमा दुई देशबीचको बहुआयामिक सहकार्यका विविध पक्षमा छलफल हुनेछ । यसमा कनेक्टिभिटी, ऊर्जा व्यापार, कृषि, स्वास्थ्य, संस्कृति र भारतको सहयोगमा सञ्चालित विकास परियोजनाहरूको प्रगति समीक्षा जस्ता विषयहरू समावेश हुनेछन् ।
प्रधानमन्त्री ओलीले आफ्नो वर्तमान कार्यकालमा चीनको भ्रमण गरिसकेका छन् भने भारत भ्रमण हुन सकेको छैन । यसर्थ, उनको भारत भ्रमणलाई दुई देशबीचको सम्बन्ध सुधार र विश्वासको वातावरण अझ सुदृढ गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।




