काठमाडौं । गुण्डागर्दीको आरोपमा हाल काठमाडौं प्रहरीको हिरासतमा रहेका मिलन गुरुङ उर्फ ‘चक्रे मिलन’ विरुद्ध भक्तपुर प्रहरीले पनि ज्यान मार्ने उद्योगको पुरानो मुद्दामा अनुसन्धान अघि बढाउने भएको छ । करिब एक वर्षअघि भक्तपुरको सानोठिमीमा भएको एक सांघातिक आक्रमणको घटनामा उनको संलग्नता रहेको आरोपमा अनुसन्धान हुन लागेको हो ।
गत बिहीबार राति महाराजगञ्जस्थित होटल साम्बालामा जन्मदिनको पार्टी मनाइरहेको अवस्थामा चक्रेसहित ४७ जनालाई प्रहरीले पक्राउ गरेको थियो । तीमध्ये १९ जनाविरुद्ध अभद्र व्यवहारको कसुरमा काठमाडौं प्रहरीले अनुसन्धान गरिरहेको छ । काठमाडौं परिसरको अनुसन्धान सकिएलगत्तै चक्रेलाई भक्तपुर प्रहरीले ज्यान मार्ने उद्योगको कसुरमा अनुसन्धानका लागि लैजाने तयारी गरेको छ ।
के थियो भक्तपुरको घटना ?
२०८० साल भदौ ४ गते, सानोठिमीस्थित दिव्यश्वरीमा रहेको ‘बड्डाको तावा रेस्टुरेन्ट’मा मनिष रायमाझीमाथि सांघातिक आक्रमण भएको थियो । उनका काका दिनेशकुमार रायमाझीले दिएको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो । पीडित मनिषले फेसबुकमा चक्रे मिलनको शारीरिक अवस्थालाई लिएर “डुँडे” भनी टिप्पणी गरेको रिसइबीमा आक्रमण भएको जाहेरीमा उल्लेख छ ।
उक्त आक्रमणमा संलग्न रहेको आरोपमा प्रहरीले सर्लाहीका अजित खवासलाई पक्राउ गरी मुद्दा चलाएको थियो । तर, घटनाको मुख्य योजनाकार भनिएका चक्रे मिलनको भने ठेगाना र पूरा विवरण नखुलेको भन्दै प्रहरीले उनलाई प्रतिवादी बनाएको थिएन । जाहेरीमा चक्रेको नाम र ठेगाना स्पष्ट किटान गरिए पनि प्रहरीले उनलाई पक्राउ गर्ने प्रयास नगरेको आरोप लाग्दै आएको थियो । आक्रमणबाट रायमाझीको दुवै कोखमा खुकुरी प्रहार भएको थियो । घटनामा चक्रे आफैं उपस्थित नभए पनि उनकै योजनामा आक्रमण भएको दाबी पीडित पक्षको छ ।
काठमाडौंमा पक्राउ र पुरानो मुद्दाको पुनर्जीवन
महाराजगञ्जको होटलबाट पक्राउ परेपछि यो पुरानो घटनाको फाइल फेरि खुलेको हो । भक्तपुर प्रहरी परिसरका प्रवक्ता तथा डीएसपी ढुण्डिराज न्यौपानेले काठमाडौं प्रहरीको अनुसन्धान सकिएपछि ज्यान मार्ने उद्योगको सोही मुद्दामा चक्रे मिलनमाथि अनुसन्धान गरिने पुष्टि गरे । पहिले ‘फरार’ देखाइएका अभियुक्त प्रहरी हिरासतमै रहेकाले अब अनुसन्धान अगाडि बढाउन सहज भएको प्रहरीको भनाइ छ ।
पछिल्लो समय चक्रे मिलन सामाजिक सञ्जालमा गाडीको लावालस्करसहित हिँडेको भिडियो सार्वजनिक भएपछि पुनः प्रहरीको निगरानीमा परेका थिए । उनको जन्मदिनको पार्टीमा समेत ठूलो संख्यामा आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरु भेला भएको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । उक्त होेटलबाट प्रहरीले खुकुरी समेत बरामद गरेको थियो ।
यसअघि पनि चक्रे मिलन विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा पटक-पटक पक्राउ पर्दै छुट्दै आएका थिए । उनीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा समेत विचाराधीन छ । अब भक्तपुर प्रहरीले ज्यान मार्ने उद्योगमा अनुसन्धान अघि बढाउने भएपछि उनको कानुनी झमेला थप बढ्ने देखिएको छ ।




