काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई ‘तीन अ’ अर्थात् अतार्किक अडान, आवेग र अराजक शैलीबाट मुक्त हुन सुझाव दिँदै कडा संसदीय टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा भिजिट भिसा प्रकरणमाथि बोल्दै उनले रास्वपालाई आवेगमा आएर तथ्यलाई नपन्छाउन आग्रह गरे ।
महामन्त्री शर्माले भिजिट भिसामा सबैभन्दा बढी मानिसहरू रास्वपाका सभापति रवि लामिछाने गृहमन्त्री भएकै समयमा बाहिरिएको तथ्याङ्क प्रस्तुत गर्दै रास्वपाको विरोधको औचित्यमाथि नै प्रश्न उठाए ।
“तपाईंहरूले संसद् बहिष्कार गर्दै गर्दा रविजीकै पालामा सबैभन्दा बढी मानव तस्करी भएको भन्ने तपाईंहरूको निष्कर्ष हो? म सोध्न चाहन्छु,” शर्माले भने । उनले रास्वपालाई नयाँ दल भएकोले अनुभवले खारिन बाँकी रहेको भन्दै संयमित र तर्कपूर्ण राजनीति गर्न सुझाए ।
आफ्नो भनाइलाई थप प्रष्ट्याउँदै उनले भने, “आवेगमा आएर विषयवस्तुलाई नहेरौं । रास्वपालाई मेरो सुझाव छ— नयाँ दल, अनुभवले खारिन बाँकी छ, त्यसकारण तपाईंहरू तीन वटा ‘अ’ अर्थात् अतार्किक अडान, आवेग र अराजक शैलीबाट मुक्त हुनुस् ।”
शर्माले मानव तस्करीको विषयमा गृहमन्त्रीको नैतिकतामाथि प्रश्न उठाउने रास्वपाले आफ्नै पार्टीबाट छानिएको उपसभामुख इन्दिरा राना मगरको नैतिकतामाथि किन प्रश्न नउठाएको भन्दै प्रतिप्रश्नसमेत गरे । उनले गृहमन्त्रीको नैतिकतामा प्रश्न उठाउने हो भने उपसभामुखको नैतिकतामाथि पनि प्रश्न उठाउनु पर्दैन र भन्दै रास्वपालाई नैतिक संकटमा पार्ने प्रयास गरे ।




