दुईदेखि तीन वर्षभित्र भृकुटीमण्डपमा अत्याधुनिक अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल निर्माण गरिने : अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी दुईदेखि तीन वर्षभित्र काठमाडौँको भृकुटीमण्डपमा अत्याधुनिक अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बुधबारबाट सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को उद्घाटन गर्दै उनले उक्त घोषणा गरेका हुन् ।

नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा) द्वारा आयोजित उक्त एक्स्पोको उद्घाटन समारोहमा बोल्दै अर्थमन्त्री पौडेलले भृकुटीमण्डपका हालका संरचनाहरू भत्काएर व्यवस्थित र आकर्षक प्रदर्शनी स्थल बनाइने जानकारी दिए । “भृकुटिमण्डप परिसरमा अहिले जे जस्ता संरचना छन् ती संरचना भत्काइने छन् र यहाँ अत्याधुनिक, व्यवस्थित, आकर्षक प्रकारको प्रदर्शनी स्थल बन्ने छ,” उनले भने ।

यस महत्वाकांक्षी परियोजनाका लागि सरकारले अन्तर्राष्ट्रिय स्तरको विशेषज्ञता र निर्माण व्यवसायीहरूको सहयोग लिने योजना बनाएको छ । “त्यसका लागि हामीले डिजाइनको लागि विश्व बजारबाट समेत कन्सल्टेन्सी सर्भिस लिन सक्छौं । कन्स्ट्रक्सनका लागि हामीले अन्तर्राष्ट्रिय निर्माण व्यवसायीलाई आमन्त्रण गर्न सक्छौं,” पौडेलले थपे ।

उनले यो योजना बजेटमा उल्लेख मात्र नभएर कार्यान्वयन भएरै छाड्ने दृढता व्यक्त गरे । “यो बजेटमा बोलिएको मात्र हैन कार्यान्वयन हुने विषय पनि हो,” उनले भने, “म एक वर्ष त भन्न सक्दिनँ, दुई वर्षमा पनि नभ्याइन सक्छ तर ढिलोमा पनि सके दुई वर्षभित्र, नभए पनि तीन वर्षभित्र यो भृकुटिमण्डपमा आधुनिक र अत्याधुनिक अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल निर्माण भैसक्नेछ ।”

सरकारले देशभर सडक पूर्वाधार फराकिलो बनाउने र कनेक्टिभिटीलाई अभियानकै रूपमा अघि बढाएको पनि मन्त्री पौडेलले बताए । उनले अटोमोबाइल क्षेत्रमा नीतिगत स्थिरता कायम राख्दै व्यवसायीको मनोबल बढाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ साउन २५ गतेसम्म चल्नेछ । एक्स्पोमा ५० भन्दा बढी ब्राण्डका सवारीसाधनहरू प्रदर्शनीमा राखिएका छन्, जसमा ३५ भन्दा बढी नयाँ मोडलहरू सार्वजनिक गरिएका छन् । आयोजकका अनुसार एक्स्पोमा ७० देखि ८० हजार मानिसले अवलोकन गर्ने अनुमान छ । 

तपाईंको प्रतिकृया

लेखकबाट थप