जम्काभेटमा ज्ञानेन्द्र र नारायणकाजीबीच भलाकुसारीः गगन थापा भने ज्ञानेन्द्र बसेको ठाउँमै गएनन्

काठमाडाैँ । पूर्वराजा ज्ञानेन्द्र शाह र नेकपाका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठबीच मंगलबार पोखरा विमानस्थलमा जम्काभेट भएको छ। साहित्य सम्मेलनमा सहभागी भएर काठमाडौं फर्किंदै गरेका श्रेष्ठ र बुहारी हिमानी शाह तथा नातिनीहरूलाई लिन पोखरा विमानस्थल पुगेका शाहबीच भेट भएको हो।

बुहारी र नातिनीहरूको स्वागतका लागि पूर्वराजा विमानस्थलको भिआइपी कक्षमा प्रतीक्षारत थिए। काठमाडौँ फर्किंदै गरेका श्रेष्ठ पनि विमानस्थलको भिआइपी रुममा पुगेपछि दुवैबीच भेट भएको हो। श्रेष्ठ विमानस्थलको भिआईपी कक्षमा जाँदै गर्दा विमानस्थलमा खटिएका प्रहरी जवानले विमानस्थलमा पूर्वराजा आएको जानकारी गराएका थिए।

श्रेष्ठलाई देखेपछि पूर्वराजा शाहले नेता श्रेष्ठलाई नमस्कार गर्दै हालखबर सोधेका थिए। हालखबर सोधपुछपछि श्रेष्ठले पूर्वराजालाई के पढ्दै हुनुहुन्छ भन्दै सोधेका थिए। यो खबर आजको नागरिक दैनिकले छापेको छ।

जबाफमा पूर्वराजा शाहले मनीषा कोइरालाको पुस्तक ‘हिल्ड’ पढिरहेको बताएका थिए। उक्त पुस्तक प्रकाश कोइराला र मनीषाले उपहार दिएको जानकारी पूर्वराजा ज्ञानेन्द्रले दिएका थिए।

पूर्वराजा शाहले श्रेष्ठसँग काठमाडौंदेखि पोखरासम्मको सडक खराब भएका कारण हवाई माध्यमबाट यात्रा गर्नुपरेको भन्दै गुनासो गरेका थिए। श्रेष्ठसँगै काठमाडौं फर्किदै गरेका कांग्रेस नेता गगन थापा भने राजा विमानस्थलमा रहेको जानकारी पाएपछि बाहिरै बसेका थिए।

पूर्वराजा ज्ञानेन्द्र शाह अंग्रेजी नयाँ वर्ष मनाउन भन्दै दुई साता लामो पोखरा बसाइमा छन्। उनी गत साता पत्नी कोमलसहित पोखरा पुगेका थिए। काठमाडौँ रहेका बुहारी हिमानी र नातिनीहरू मंगलबार पोखरा पुगेका हुन्। ज्ञानेन्द्र परिवार पोखराको माउन्टेन ग्लोरी रिसोर्टमा बसेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप