अमेरिकाबाट कुलमानको टिप्पणी- स्रोतले होइन, व्यवस्थापन गर्न नसक्दा आपूर्तिमा समस्या देखियो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको वर्तमान नेतृत्व व्यवस्थापकीय रूपमा पूर्ण असफल भएको आरोप लगाएका छन् । उनले हाल देशैभरि देखिएको विद्युत आपूर्ति समस्याको जड स्रोतको अभाव नभई कमजोर व्यवस्थापन र अदूरदर्शिता भएको दाबी गरेका छन् ।

‘उज्यालो नेपाल अभियान’ लिएर अमेरिका भ्रमणमा रहेका घिसिङले अस्टिनमा आयोजित एक कार्यक्रममा नेपाली समुदायलाई सम्बोधन गर्दै उक्त टिप्पणी गरेका हुन्। उनले पर्याप्त विद्युत उत्पादन हुँदाहुँदै पनि जनताले अघोषित लोडसेडिङ भोग्नुपरेको अवस्था आउनु व्यवस्थापनको चरम असफलताको द्योतक भएको बताए।

आफ्नो कार्यकालमा लोडसेडिङ अन्त्य गरी घाटामा रहेको संस्थालाई नाफामा पुर्‍याएका घिसिङले अहिले भइरहेको घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गरे। उनले भने, “नयाँ व्यवस्थापन आएपछि राम्रो काम गरिरहेकालाई ‘कुलमानका मान्छे’ भन्दै जिम्मेवारीबाट हटाउन थालियो। देशको समग्र विद्युत प्रणाली सञ्चालन गर्ने भार प्रेषण केन्द्रजस्तो संवेदनशील ठाउँको प्रमुखलाई हटाइयो, पछि प्रणाली नै नचल्ने अवस्था आएपछि उनैलाई फर्काउनु पर्‍यो। यो भन्दा ठूलो असफलता के हुन्छ?”

घिसिङले एसियाली विकास बैंकको लगानीमा बन्न लागेको ६७० मेगावाटको दूधकोशी जलाशययुक्त आयोजनालाई समेत वर्तमान व्यवस्थापनले अनिश्चिततातर्फ धकेलेको गम्भीर आरोप लगाए। “आयोजनाको लगानी जुटाउन अन्तिम चरणको काम भइरहेको थियो, अहोरात्र खटिएका प्रमुख कार्यकारी अधिकृतलाई बिनाकारण हटाएर सिंगो आयोजनालाई अन्यौलमा पार्ने काम भयो,” उनले भने।

आफूले प्राधिकरणलाई नाफामा लगेको, देशलाई लोडसेडिङमुक्त बनाएको र ठूला औद्योगिक ग्राहकबाट बक्यौता उठाउने प्रयास गरिरहेकै अवस्थामा सरकारले अपमानपूर्वक हटाएको गुनासो पनि उनले गरे। लोडसेडिङको अन्त्य कुनै जादू नभई इमान्दार प्रयास, टिम वर्क र आम नेपालीको साथले सम्भव भएको स्मरण गर्दै उनले त्यो सफलतामा तत्कालीन सरकार, कर्मचारी र उपभोक्ता सबैको योगदान रहेको बताए।

‘उज्यालो नेपाल’ अभियानको घोषणा

आफ्नो सम्बोधनका क्रममा घिसिङले ‘उज्यालो नेपाल अभियान’को उद्देश्यबारे पनि प्रष्ट पारे। उनले भने, “बत्तीको उज्यालोले मात्र पुग्दैन। देशमा व्याप्त निराशा, कुशासन र पछौटेपनको अँध्यारो हटाउन यो अभियान थालिएको हो।” यो अभियान सुशासन, चुस्त सार्वजनिक सेवा, सामाजिक न्याय र आर्थिक समृद्धिका लागि थालिएको एक आर्थिक क्रान्ति भएको उनले बताए।

देशभित्रै केही गर्न सकिन्छ भन्ने विश्वास जगाउन र विदेशमा पसिना बगाइरहेका नेपालीलाई समेत यो अभियानमा जोड्न आफू मध्यपूर्वी देशहरू हुँदै अमेरिका आइपुगेको उनले उल्लेख गरे ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री