काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गर्न आयोजना गरेको ‘नेपाल लाइफ लिडरसिप एक्सिलेन्स अवार्ड २०२५’ भव्यताका साथ सम्पन्न भएको छ। साउन १६ देखि १८ गतेसम्म काठमाडौंको सोल्टी होटलमा आयोजित तीनदिने उक्त कार्यक्रममा देशभरबाट उत्कृष्ट व्यवसाय गर्ने ४४० जना अभिकर्ताहरुको उपस्थिति रहेको थियो।
कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) प्रविण रमण पराजुलीले गरेका थिए। उद्घाटन सत्रमा सिईओ पराजुली र नेशनल सेल्स हेड उमापती पोखरेलले कम्पनीले विगतमा हासिल गरेका उपलब्धिहरुको समीक्षा गर्दै चालु आर्थिक वर्षका लागि कम्पनीका नयाँ रणनीति र कार्ययोजना प्रस्तुत गरेका थिए।
यस वर्ष पनि धनगढीका मदन भट्टले नेपाल लाइफ इन्स्योरेन्सका लागि सबैभन्दा बढी व्यवसाय गर्दै सर्वोत्कृष्ट अभिकर्ताको उपाधि हात पारेका छन्। यो उनको चौथो पटकको उपाधि हो। उनले आर्थिक वर्ष २०८१–८२ मा व्यक्तिगत तर्फ नौ करोड रूपैयाँभन्दा बढी प्रथम बीमाशुल्क संकलन गरेका थिए।
त्यस्तै, झापा विर्तामोडका जंग बहादुर राजवंशी तीन करोड रुपैयाँको उत्कृष्ट कारोबार गर्दै दोस्रो स्थानमा रहे भने धनगढीकै मिन बहादुर कुँवरले पनि तीन करोडको कारोबार गरी तेस्रो स्थान हासिल गर्न सफल भए। कम्पनीले उत्कृष्ट तीनै जनालाई नगद पुरस्कार र ट्रफीले सम्मान गरेको छ। गत आर्थिक वर्षमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः २ लाख ५१ हजार, १ लाख ३५ हजार र ७५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो। यसका साथै, विभिन्न विधामा उत्कृष्ट कारोबार गर्ने एजेन्सी म्यानेन्जर र अन्य अभिकर्ताहरुलाई पनि सम्मान गरिएको थियो।
कार्यक्रममा पेशागत बीमा अभिकर्ता संघ, बीमक समिति नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष गणेश अधिकारीले पनि आफ्नो मन्तव्य राखेका थिए। कार्यक्रमको तेस्रो दिन सहभागीहरुका लागि मनोरञ्जनात्मक कार्यक्रमहरु आयोजना गरिएको थियो, जसमा चर्चित हास्य कलाकार सन्दिप क्षेत्रीको प्रस्तुति पनि रहेको थियो।



