काठमाडौं । युनाइटेड इदी मर्दी एण्ड आर.बि. हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्कासनको प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ। कम्पनीले पन्ध्रौं वार्षिक साधारणसभाबाट पारित १ः१ अनुपातमा हकप्रद शेयर निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो।
दुवै पक्षबीचको सम्झौता २०८२ साउन १४ गते बुधबार सम्पन्न भएको हो। उक्त सम्झौतापत्रमा कम्पनीका तर्फबाट प्रबन्ध निर्देशक रोशन के.सी. र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइटेलले हस्ताक्षर गरेका छन्।
विगत तीन वर्षदेखि लगातार नगद लाभांश र बोनस शेयर वितरण गर्दै आएको कम्पनीको अधिकृत पुँजी एक अर्ब रुपैयाँ रहेको छ। प्रस्तावित हकप्रद निष्कासनपछि कम्पनीको चुक्ता पुँजी ९२ करोड १६ लाख रुपैयाँ पुग्नेछ।
कम्पनीको रजिष्टर्ड कार्यालय पोखरा उपमहानगरपालिका–१७, घारीपाटनमा रहेको छ भने सम्पर्क कार्यालय कुपण्डोल, ललितपुरमा रहेको छ। कम्पनीद्वारा प्रवर्द्धित ७ मेगावाट क्षमताको मर्दीखोला जलविद्युत आयोजना कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–८ र ९ मा अवस्थित छ। आयोजनाबाट कम्पनीले २०७६ साल असोजदेखि व्यावसायिक उत्पादन सुरु गरिसकेको छ।
हकप्रद शेयर निष्कासनबाट प्राप्त रकम कम्पनीले आगामी जलविद्युत् परियोजनामा लगानी गर्ने योजना बनाएको छ। यसले कम्पनीको दीर्घकालीन वित्तीय सुदृढीकरणमा योगदान पु¥याउने अपेक्षा गरिएको छ।



