काठमाडौं । लामो समयदेखि सुक्खाले ग्रस्त मधेश प्रदेशमा केही दिनयताको निरन्तर वर्षाले किसानलाई राहत दिएको छ भने उदयपुरमा परेको अति भारी वर्षाले त्रियुगा नदीमा जलसतह बढेर जोखिम निम्त्याएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, मनसुन सक्रिय भएसँगै देशका विभिन्न भागमा वर्षाले एकैसाथ राहत र जोखिम दुवै ल्याएको हो ।
सरकारले नै संकटग्रस्त घोषणा गरेको मधेशका विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा भारी वर्षा भएको छ । विभागका अनुसार, सबैभन्दा बढी सिराहको सिराह हाइड्रो केन्द्रमा १०१.६ मिलिमिटर ‘धेरै भारी’ वर्षा रेकर्ड भएको छ । यसैगरी, सिराहकै लहान र गोलबजार, सप्तरीको मरमझिया र रुपनी बजार तथा महोत्तरीको गौशाला लगायतका स्थानमा पनि उल्लेखनीय वर्षा भएको छ । वर्षा भएपछि धान रोप्न नपाएर चिन्तित किसानलाई ठूलो राहत मिलेको छ ।
अर्कोतर्फ, देशैभरिको मापनमा पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा उदयपुरको गाईघाटमा भएको छ । त्यहाँ १३२ मिलिमिटर अति भारी वर्षा मापन भएसँगै स्थानीय त्रियुगा नदीमा जलसतहले सतर्कता तह पार गरेको विभागले जनाएको छ । नदीमा जलसतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
मनसुनी वायुको प्रभाव देशभर सक्रिय रहँदा पर्वत जिल्लास्थित कालीगण्डकी नदीको मोदी बेनी जलमापन केन्द्रमा पनि जलसतह सतर्कता तह आसपास पुगेको छ । कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम बढेकाले त्यहाँ पनि सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ सरेकाले वर्षाको यो क्रम जारी रहनेछ । आज दिउँसो र राति पनि कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सम्बन्धित क्षेत्रमा थप सतर्कता आवश्यक देखिएको छ ।




