काठमाडौँ । गृहमन्त्री रमेश लेखकले मुलुकलाई लागुऔषधमुक्त बनाउने लक्ष्यका साथ प्रभावकारी ढंगले काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । लागुऔषधको उत्पादन, भण्डारण र प्रयोग राष्ट्रिय चुनौतीको रूपमा देखा परेको बताउँदै उनले यसको नियन्त्रणका लागि सञ्चालित अभियानलाई थप सार्थक बनाउनुपर्नेमा जोड दिएका हुन् ।
शुक्रबार काठमाडौँको कोटेश्वरस्थित लागुऔषध नियन्त्रण ब्युरोको कार्यालय निरीक्षण गर्दै गृहमन्त्री लेखकले लागुऔषध दुर्व्यसनले सडक दुर्घटना, आत्महत्या र साइबर अपराधजस्ता जघन्य घटनालाई समेत बढावा दिइरहेको बताए। “लागुऔषधको प्रयोगले अन्य अपराधलाई पनि जन्म दिन्छ,” उनले भने, “त्यसैले हामीले एक वर्षअघि सुरु गरेको लागुऔषधविरुद्धको महाअभियान सार्थक भएको छ र यसलाई थप प्रभावकारी बनाउनु जरुरी छ।”
पछिल्लो एक वर्षमा लागुऔषध नियन्त्रणमा उल्लेख्य प्रगति भएको दाबी गर्दै उनले स्रोतसाधनको सीमितताका बाबजुद पनि इच्छाशक्ति भए धेरै काम गर्न सकिने कुरा प्रमाणित भएको बताए। “आगामी दिनमा यो चुनौतीको सामना अझ सशक्त ढंगले गर्नु छ,” उनले भने, “खासगरी देशको भविष्य जोडिएको युवाशक्ति यसको लतमा फसेको देखिन्छ। यो प्रहरीको मात्र नभई सबै नागरिकको साझा जिम्मेवारी हो।”
उनले अपराधीलाई कारबाही गरेर मात्र समस्या समाधान नहुने भन्दै जनचेतनामूलक अभियानलाई सँगसँगै लैजानुपर्ने आवश्यकता औँल्याए।
यसै क्रममा गृहमन्त्री लेखकले ब्युरोको कार्यसम्पादन र बढ्दो चुनौतीलाई मध्यनजर गर्दै यसलाई ‘विभाग’का रूपमा स्तरोन्नति गर्ने प्रतिबद्धता व्यक्त गरे। “लागुऔषध ब्युरोलाई विभागका रूपमा विकास गर्ने मैले प्रतिबद्धता जनाएको छु, मन्त्रालयबाट हुने सबै सहयोग हुन्छ,” उनले भने।
गृहमन्त्रीले ब्युरोलाई विभागमा स्तरोन्नति गर्ने प्रक्रिया अगाडि बढाउन प्रहरी महानिरीक्षक दिपक थापालाई तत्काल निर्देशन दिए। कार्यक्रममा महानिरीक्षक थापाले गृहमन्त्रीको प्रस्ताव सराहनीय रहेको बताउँदै यसले लागुऔषध नियन्त्रणमा थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरे।





