अरुण कोरिडोरमा रोजगारीको ढोका खोल्न सीप अनिवार्य : ऊर्जामन्त्री खड्का

  • संखुवासभालाई जलविद्युत्‌को केन्द्र बनाउन स्थानीय युवालाई दक्ष बनाउनुपर्नेमा जोड

खाँदबारी । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले जलविद्युत् आयोजनाहरूको ‘हब’ बन्दै गरेको संखुवासभामा स्थानीय युवाहरूले रोजगारीका अवसर सुनिश्चित गर्न सीपमूलक तालिम लिनु अनिवार्य रहेको बताएका छन्। उनले सीप नै रोजगारी सिर्जना र आत्मनिर्भरताको बलियो आधार भएको उल्लेख गरे।

खाँदबारी नगरपालिका–१ मा आयोजित ‘पावर हाउस सञ्चालन तथा मर्मतसम्भार’ सम्बन्धी २० दिने तालिमको उद्घाटन गर्दै मन्त्री खड्काले जिल्लामा निर्माण हुन लागेका राष्ट्रिय गौरवका आयोजनाबाट स्थानीयले अधिकतम लाभ लिनुपर्नेमा जोड दिए। उनले भने, “अरुण तेस्रो, अपर अरुण, लोअर अरुण र अरुण चौथोजस्ता विशाल आयोजनाहरू निर्माणको चरणमा छन्। यी आयोजनाको दीर्घकालीन सफलताका लागि प्राविधिक ज्ञान र सीप हासिल गरेका स्थानीय युवाको भूमिका निर्णायक हुन्छ।”

मन्त्री खड्काले सीपलाई आर्थिक सशक्तीकरण र आत्मनिर्भरताको ढोकाको रूपमा व्याख्या गरे। “जलविद्युत्को अपार सम्भावना भएको जिल्लामा सीप विकासमार्फत युवालाई आत्मनिर्भर र आर्थिक रूपले सबल बनाउनु आजको प्रमुख आवश्यकता हो,” उनले भने, “सीप विकास रोजगारीको आधार मात्र होइन, यो आर्थिक सबलीकरण र आत्मनिर्भरताको प्रवेशद्वार पनि हो।”

यसै क्रममा, मन्त्री खड्काले खाँदबारीमा एक प्राविधिक शिक्षालय स्थापना गर्ने सरकारको योजना रहेको समेत खुलासा गरे। उक्त शिक्षालयमार्फत स्वास्थ्य, निर्माण, काठ तथा पाइप जडान र विद्युतीय मर्मतजस्ता विभिन्न क्षेत्रमा आवश्यक तालिम सञ्चालन गरिने उनले जानकारी दिए।

कार्यक्रममा बोल्दै खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले यस्ता तालिमले युवाहरूमा आशा, सम्भावना र आत्मनिर्भरताको भावना जगाउने बताए। उनले सीप विकासका पहलहरूलाई नगरपालिकाले सधैँ प्राथमिकतामा राखेर निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री