मध्यभोटेकोसी आयोजना उत्पादनको तयारीमा, अवस्था बुझ्न पुगे हितेन्द्रदेव शाक्य

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले १०२ मेगावाट क्षमताको मध्यभोटेकोसी जलविद्युत् आयोजनाका निरीक्षण गरेका छन् । आयोजना सम्पूर्ण काम सकिएर उत्पादनको तयारीमा छ ।

निरीक्षण गर्दै शाक्यले सम्बन्धित अधिकारीहरूलाई सुरुङको चुहावट परीक्षण र पावर हाउसलगायतका संरचनामा बाढी प्रवेश गर्न नसक्ने अवस्था सुनिश्चित गर्न निर्देशन दिएका छन् ।

शाक्यले ७.२ किलोमिटर लामो सुरुङमार्गमा पानी चुहावट परीक्षण गराई नचुहिने अवस्था पक्का गर्न निर्देशन दिएका छन् । साथै, पावर हाउस र अन्य पूर्वाधारलाई भोटेकोसीमा आउन सक्ने सम्भावित बाढीबाट जोगाउन आवश्यक सुरक्षा व्यवस्था मिलाउन समेत भनेका छन् ।

बाँध मार्मिङ (चाकुमा) र पावर हाउस जम्बुमा रहने यस आयोजनाले वार्षिक ५४ करोड २२ लाख युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । निर्माण कार्य केही महिना अघि नै पूरा भए पनि प्रसारण लाइनको टुंगो नलागेकाले उत्पादन सुरु हुन सकेको थिएन ।

सुरुमा बाह्रबिसे–लप्सीफेदी प्रसारण लाइनमार्फत विद्युत् प्रणालीमा जोड्ने योजना भए पनि स्थानीय सहमति नजुट्दा लामोसाँघुमार्फत बिजुली प्रवाहको प्रयास गरिएको थियो । तर, त्यहाँ पनि सम्भव नभएपछि अन्ततः प्राधिकरणकै स्वामित्वमा रहेको न्यू खिम्ती ४०० केभी सबस्टेसन हुँदै ढल्केवर प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने निर्णय गरिएको हो ।

२०७० देखि निर्माण सुरु भएको आयोजना १२ वर्षमा तयार भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री