गुण्डा नाइके सानुभाइ फेरि पक्राउ

काठमाडौँ । राजधानीको मुख्य पर्यटकीय हब ठमेल र आसपासमा गुण्डागर्दी तथा आपराधिक गतिविधिमा संलग्न रहँदै आएका युवराज गुरुङ उर्फ ‘सानुभाइ’ लाई प्रहरीले पुनः पक्राउ गरेको छ । उनलाई बुधबार राति ठमेलस्थित नगरकोट दोहोरी साँझमा भएको कुटपिट तथा झगडाको घटनामा संलग्न भएको आरोपमा नियन्त्रणमा लिइएको हो ।

प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका सानुभाइ पटके गुण्डाका रूपमा चिनिन्छन् । उनी पटक-पटक आपराधिक गतिविधिमा संलग्न हुँदै पक्राउ पर्ने र छुट्ने गर्दै आएका छन् । यसअघि पनि उनलाई ठमेलकै एक क्लबका बाउन्सर र सञ्चालकमाथि साङ्घातिक हमला गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो । त्यसबेला मिडियामा प्रमाणसहित समाचार आएपछि बढेको दबाबका कारण पक्राउ परेका उनलाई प्रहरीले हतकडीसहित थुनुवा पोशाकमै ठमेल घुमाएर आपराधिक मनोवृत्तिलाई निरुत्साहित गर्ने प्रयास गरेको थियो ।

सानुभाइ प्रहरी इन्काउन्टरमा मारिएका अर्का गुण्डा नाइके कुमार घैंटे समूहका सक्रिय सदस्य थिए । उनीमाथि ज्यान मार्ने उद्योग, चन्दा असुली, र सङ्गठित अपराधसम्बन्धी विभिन्न मुद्दाहरू विचाराधीन रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका गुरुङमाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री