काठमाडौं । बागमती प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम अन्तिम समयमा आएर स्थगित भएको छ । प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाको स्वास्थ्यमा आकस्मिक समस्या देखिएपछि आज दिउँसो १ बजेका लागि तय भएको समारोह रोकिएको हो ।
प्रदेश प्रमुखको कार्यालयले एक औपचारिक सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि शपथ ग्रहण कार्यक्रम स्थगित गरिएको जानकारी दिएको छ । सूचनामा प्रदेश प्रमुख देवकोटा उपचारका लागि काठमाडौँ प्रस्थान गर्नुपरेकाले समारोहमा उपस्थित हुन नसक्ने उल्लेख छ ।
‘प्रदेश प्रमुखज्यूको स्वास्थ्यमा अचानक समस्या देखिएकाले उपचारका लागि काठमाडौँ जानुपर्ने भएको छ, सोही कारण उहाँ आजको समारोहमा उपस्थित हुन नसक्ने हुनुभएको छ,’ कार्यालयद्वारा जारी सूचनामा भनिएको छ ।
प्रदेश प्रमुखका प्रवक्ता देवेन्द्र सापकोटाले पनि देवकोटा उपचारका लागि काठमाडौँ प्रस्थान गरिसकेको पुष्टि गरेका छन् । शपथको मिति र समय तय भएर तयारी भइसकेको अवस्थामा कार्यक्रम स्थगित हुँदा नवनियुक्त मन्त्रीहरूले शपथका लागि अर्को सूचना कुर्नुपर्ने भएको छ ।




