न्यूयोर्कमा कुलमान र ज्ञानेन्द्रलाई ‘ग्लोबल हिरो अवार्ड’, घिसिङद्वारा ‘उज्यालो नेपाल’ अभियानको घोषणा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाहीलाई अमेरिकामा ‘ग्लोबल हिरो अवार्ड’ प्रदान गरिएको छ । न्यूयोर्कस्थित ‘हामी नेपाली ग्लोबल’ संस्थाले आयोजना गरेको एक भव्य समारोहबीच घिसिङलाई नेपालको ऊर्जा क्षेत्रमा ल्याएको क्रान्तिकारी परिवर्तन र शाहीलाई सामाजिक तथा राजनीतिक जागरणमा पुर्‍याएको योगदानको कदर गर्दै उक्त प्रतिष्ठित सम्मान प्रदान गरिएको हो ।

अवार्ड ग्रहण गरेपछि समारोहलाई सम्बोधन गर्दै कुलमान घिसिङले देशबाट लोडसेडिङ अन्त्य गरेजस्तै अब नेपालीको निराशालाई आशामा बदल्न ‘उज्यालो नेपाल’ अभियान सुरु गरेको घोषणा गरे । कुनै समय १८ घण्टासम्मको अन्धकारमा रहेको मुलुकलाई सबैको साथ लिएर लोडसेडिङमुक्त बनाइएको अनुभव सुनाउँदै उनले भने, ‘जहाँ बत्ती थिएन, त्यहाँ पनि पुऱ्यायौं । प्राधिकरण ठूलो घाटामा थियो, नाफामा ल्यायौं । अब सुशासन, सामाजिक न्याय, गरिबी निवारण र रोजगारी सिर्जनामार्फत नेपालीको जीवनमा उज्यालो छर्न यो अभियान लिएर आएको हुँ ।’ आम प्रवासी नेपालीहरूलाई आफ्नो अभियानमा साथ दिन उनले आग्रह गरे ।

कार्यक्रममा सम्मानित अर्का व्यक्तित्व सांसद ज्ञानेन्द्र शाहीले स्वर्गजस्तो देश भएर पनि नेपाल विश्वसामु गरिब भनेर चिनिनु दुःखद भएको बताए । ‘तपाईंहरूको सीप र क्षमतालाई हामी शक्तिमा बदल्न चाहन्छौं । एक पटक नेपाल फर्किनुहोस्, फर्कने वातावरण हामी बनाउँछौं,’ शाहीले प्रवासी नेपालीहरूलाई आह्वान गरे ।

समारोहमा विशिष्ट अतिथिका रूपमा उपस्थित चर्चित गायिका आनी छोइङ डोल्माले विदेशमा रहेर पनि आफ्नो देश र समाजका लागि योगदान गर्ने नेपालीहरूलाई सम्मान गर्नाले सबैलाई थप हौसला मिल्ने बताइन् । उनले नेपालको उन्नतिमा सबैले हातेमालो गर्नुपर्ने धारणा राखिन् ।

आयोजक संस्था ‘हामी नेपाली ग्लोबल’का अनुसार राजनीति, धर्म, जाति र वर्गभन्दा माथि उठेर संसारभरि छरिएका नेपालीहरूलाई एउटै मालामा उन्नु संस्थाको मुख्य उद्देश्य हो । कार्यक्रममा खेलकुद, संगीत, व्यवसायलगायत विभिन्न क्षेत्रमा उल्लेख्य योगदान पुऱ्याउने अन्य प्रवासी तथा नेपाली अगुवाहरूलाई पनि सम्मान गरिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री