स्पेनलाई स्तब्ध पार्दै इंग्ल्यान्डले जित्यो महिला युरो कपको उपाधि

काठमाडौं । डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्डले महिला युरो कप २०२५ को उपाधि रक्षा गरेको छ । आइतबार राति स्वीट्जरल्यान्डको बासेलस्थित सेन्ट ज्याकोब-पार्कमा भएको रोमाञ्चक फाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ३-१ गोलअन्तरले पराजित गर्दै इंग्ल्यान्डले लगातार दोस्रो पटक उपाधि जितेको हो ।

निर्धारित तथा अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । सन् २०२३ को विश्वकप फाइनलमा स्पेनसँग व्यहोरेको हारको बदला लिँदै इंग्ल्यान्डले विदेशी भूमिमा पहिलो पटक ठूलो प्रतियोगिताको उपाधि जित्न सफल भयो ।

खेलको २५ औं मिनेटमा मारियोना काल्डेन्टलीले गोल गर्दै स्पेनलाई अग्रता दिलाएकी थिइन् । तर, इंग्ल्यान्डले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्‍यो । खेलको ५७ औं मिनेटमा क्लोई केलीको पासमा एलिसिया रुसोले हेडरमार्फत सुन्दर गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याइन् ।

त्यसपछि निर्धारित र अतिरिक्त समयमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट निकालिएको थियो ।

पेनाल्टी सुटआउटमा इंग्ल्यान्डकी गोलरक्षक हनाह ह्याम्पटन नायक बनिन् । उनले स्पेनका दुईवटा प्रहार बचाइन् । स्पेनले आफ्ना लगातार तीन प्रहार खेर फालेको थियो । इंग्ल्यान्डका लागि क्लोई केलीले निर्णायक पेनाल्टी प्रहार गर्दै टोलीको जित सुनिश्चित गरिन् । केलीले नै सन् २०२२ को युरो फाइनलमा पनि विजयी गोल गरेकी थिइन् ।

यो जितसँगै इंग्ल्यान्डकी प्रशिक्षक सारिना विगम्यानले इतिहास रचेकी छिन् । उनले लगातार तेस्रो पटक युरो कपको उपाधि जितेकी हुन् । यसअघि उनले सन् २०१७ मा नेदरल्यान्ड्सलाई र सन् २०२२ मा इंग्ल्यान्डलाई च्याम्पियन बनाएकी थिइन् । दुई फरक देशलाई युरो उपाधि जिताउने उनी पहिलो प्रशिक्षक बनेकी छिन् ।

‘कमब्याक क्विन’ को उपमा पाएको इंग्ल्यान्डले प्रतियोगिताको नकआउट चरणका सबै खेलमा पछि परेर पनि जित हात पार्न सफल भयो । क्वार्टरफाइनलमा स्वीडेन र सेमिफाइनलमा इटालीविरुद्ध पनि इंग्ल्यान्ड पछि परेको स्थिति उल्टाउँदै फाइनलमा पुगेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री