प्रेम र नृत्यको कोसेली ‘यो माया’ लिएर आइन् जुनु गौतम

काठमाडौं – आफ्ना स्रोता तथा दर्शकमाझ गायिका जुनु गौतमले नयाँ कोसेली ‘यो माया’ प्रस्तुत गरेकी छन् । प्रेम र नृत्यको रमाइलो संयोजन रहेको यो गीत ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत हालै सार्वजनिक गरिएको हो ।

सार्वजनिक भएसँगै गीतले छोटो समयमै दर्शकको मन जित्न सफल भएको छ । जीवन अधिकारीको शब्द तथा संगीतमा सजिएको यस गीतमा बिपिन आचार्यको संगीत संयोजन रहेको छ । गीतले प्रेमिल भावहरूलाई जीवन्त बनाउँदै जो कोहीलाई पनि छमछमी नचाउने नृत्यमय शैली बोकेको छ ।

गीतको भिडियोमा चर्चित रेस्लर अश्मिता जुरेली र मोडल क्रिस बमको आकर्षक अभिनय तथा नृत्य देख्न सकिन्छ । विशाल कैनीको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको भिडियोले गीतको भावलाई थप उजिल्याएको छ ।

सार्वजनिक भएको केही दिनमै युट्युबमा १ लाख ३० हजारभन्दा बढी पटक हेरिइसकेको यो गीतले स्रोता तथा दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

गीतले पाएको सफलताबाट उत्साहित गायिका गौतमले आफ्ना अन्य सिर्जनाहरू पनि चाँडै बजारमा ल्याउने तयारी गरेकी छन् । ‘यो माया लाई दर्शकले दिनुभएको मायाले म निकै खुसी छु,’ उनले भनिन्, ‘अब मेरा आधा दर्जनभन्दा बढी गीतहरू सार्वजनिक हुने तयारीमा छन्, जसमा तीज गीत, भजनदेखि शास्त्रीय संगीतसम्मका स्वाद दर्शकले पाउनेछन् ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री