रेशमको रञ्जितालाई अल्टिमेटम- पार्टी बैठकमा आएर जवाफ दिनुस्, भाग्न पाइँदैन !

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई केन्द्रीय समितिको बैठकमा उपस्थित भएर आफूमाथि लागेको आरोपबारे स्पष्ट जवाफ दिन सार्वजनिक आह्वान गरेका छन् । कास्कीको लिचीबारी जग्गा प्रकरणमा मुछिएपछि अख्तियारको अनुसन्धानमा परेकी पत्नीसमेत रहेकी अध्यक्ष श्रेष्ठलाई चौधरीले भिडियो सन्देशमार्फत पार्टीको बैठकमा भाग्न नपाउने भन्दै निर्देशन दिएका हुन् ।

चौधरीले भनेका छन्, ‘तपाईं केन्द्रीय समिति बैठकमा आउनुपर्छ, स्पष्ट जवाफ दिनुपर्छ । तपाईं भाग्न पाउनुहुन्न ।’ अध्यक्ष श्रेष्ठले उक्त बैठक आफूले नबोलाएको र त्यो अवैधानिक भएको भनी दिएको प्रतिक्रियाप्रति लक्षित गर्दै चौधरीले अध्यक्षजस्तो जिम्मेवार व्यक्ति यसरी पन्छिन नमिल्ने बताए । ‘उहाँले ‘मैले बोलाएको बैठक होइन, यो वैधानिक होइन’ भनेर पन्छिन पाउनुहुन्न,’ चौधरीले भने, ‘साथीहरूले के कारणले बैठक बोलाउनुभयो भनेर उहाँले सोधिखोजी गर्नुपर्छ । अध्यक्ष भइसकेपछि हरेक सदस्य उहाँको परिवार हो, उहाँहरूसँग प्रतिशोधको भावना राख्नु गलत हो ।’

संरक्षक चौधरीले पार्टीभित्र हाल उत्पन्न परिस्थितिको मुख्य जिम्मेवार अध्यक्ष श्रेष्ठ नै भएको सङ्केत गर्दै यसको निकास पनि उनैले दिनुपर्नेमा जोड दिएका छन् । उनले भने, ‘अहिले उत्पन्न परिस्थिति तपाईंको कारणले सिर्जना भए पनि हामीले तपाईंसँग सम्पर्क राख्ने प्रयास त गरेकै छौँ नि । जनता अन्योलमा छन् ।’

पार्टी अध्यक्षमाथि नै मुद्दा लागेपछि आम जनता र कार्यकर्तामाझ अन्योल छाएको उल्लेख गर्दै चौधरीले एक व्यक्तिले मात्र बोलेर नहुने र केन्द्रीय समितिमा आएर आफ्नो धारणा राख्दा लाखौँ कार्यकर्ताले पक्ष वा विपक्षमा आफ्नो मत बनाउने अवसर पाउने बताए । पार्टीलाई बन्धक वा निरंकुश बनाउन नहुने भन्दै उनले अध्यक्ष श्रेष्ठलाई निराकरण र निकासको बाटो दिन आग्रह गरेका छन् । ‘निराकरणको बाटो दिनुपर्छ, निकास दिनुपर्छ । पार्टीलाई बन्धक वा निरंकुश बनाउन पाइँदैन। यसको निकास तपाईंले नै दिनुपर्छ,’ उनले भिडियो सन्देशमा भनेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री