निर्णय कार्यान्वयनमा दबाब दिन कांग्रेसका ७ युवा केन्द्रीय सदस्य एकजुट

काठमाडौं । नेपाली कांग्रेसभित्र संस्थापन र इतर पक्षको गुटगत राजनीतिको छायामा परेका तेस्रो उमेर समूहका नेताहरूले आफ्नो छुट्टै पहिचान र दबाब समूह बनाउने प्रयास थालेका छन् । पार्टीले गरेका निर्णयहरू कार्यान्वयन गराउन नेतृत्वलाई दबाब दिने साझा उद्देश्यका साथ सात केन्द्रीय सदस्यहरू बुधबार एकै ठाउँमा जुटेका हुन् ।

भेलाको पहल बागमती प्रदेशका मन्त्री समेत रहेका केन्द्रीय सदस्य कुन्दनराज काफ्ले र नेविसंघका पूर्व अध्यक्ष राजीव ढुङ्गानाले गरेका थिए । काठमाडौंमा भएको छलफलमा उनीहरूका साथै केन्द्रीय सदस्यहरू नैनसिंह महर, जीतजंग बस्नेत, नानु बाँस्तोला, उर्मिला थपलिया र माया राईको सहभागिता थियो । यो समूहले आफूहरूलाई कुनै गुटमा सीमित नराखी साझा मुद्दामा केन्द्रित हुने बताएको छ ।

नेविसंघका पूर्व अध्यक्ष समेत रहेका ढुङ्गानाले पार्टीका निर्णयहरू केवल औपचारिकतामा सीमित हुन नदिन युवा पुस्ताका केन्द्रीय सदस्यहरूले संगठित रूपमा आवाज उठाउनु परेको बताए । ‘पार्टीले विभिन्न समयमा महत्त्वपूर्ण निर्णयहरू गर्छ, तर तिनको कार्यान्वयन पक्ष फितलो हुँदा जनतामा निराशा छाउँछ,’ ढुङ्गानाले भने, ‘ती निर्णयहरूलाई परिणाममुखी बनाउन नेतृत्वलाई दबाब दिन हामीले यो अभियान थालेका हौं । यो हाम्रो पहिलो बैठक हो र यो क्रम विस्तार हुँदै जानेछ ।’

अर्का नेता काफ्लेका अनुसार यो भेला युवा पुस्ताका नेताहरूबीच साझा मुद्दा पहिचान गरी नीतिगत बहसलाई बलियो बनाउने रणनीतिको हिस्सा हो । ‘हामी साझा मुद्दाहरूमा हातेमालो गर्दै अघि बढ्नेछौं। पार्टीलाई थप गतिशील र परिणाममुखी बनाउन युवाहरूको संगठित प्रयास आवश्यक छ,’ उनले भने, ‘अब हाम्रा छलफलहरू निरन्तर चल्नेछन् र थप साथीहरूलाई पनि यो अभियानमा जोड्नेछौं ।’

भेलालाई कांग्रेसभित्र लामो समयदेखि चल्दै आएको पुस्तान्तरणको बहस र युवा नेताहरूको भूमिका स्थापित गर्ने रणनीतिक कदमका रूपमा हेरिएको छ । पार्टीको शीर्ष तहमा रहेका पुराना नेताहरूको छायाबाट बाहिर निस्केर आफ्नो राजनीतिक अस्तित्व र वैचारिक धार निर्माण गर्न यी नेताहरू सक्रिय भएको देखिन्छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री