काठमाडौं । नेपाल बिमा प्राधिकरणको सञ्चालक समिति सदस्य राधा पोखरेलले आफ्नो पदबाट राजीनामा दिएकी छन् । सरकारले महिला सञ्चालकको रुपमा नियुक्त गरेको साढे तीन महिनामै व्यक्तिगत कारण देखाउँदै उनी नियामक निकायको महत्वपूर्ण जिम्मेवारीबाट अलग भएकी हुन् ।
शेयर बजारकी लगानीकर्ता समेत रहेकी पोखरेलले छोटो समयमै पद त्याग गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । ‘व्यक्तिगत कारणले नै केही समयसम्म प्राधिकरणमा समय दिन नसक्ने भएपछि मैले राजीनामा दिएकी हुँ,’ पोखरेलले भनिन् ।
गत चैतमा सरकारले उनलाई प्राधिकरणको सञ्चालक समितिमा नियुक्त गरेको थियो । उनको राजीनामासँगै बिमा क्षेत्रको नियामक निकायको सञ्चालक समितिमा एक सदस्यको पद रिक्त भएको छ । सरकारले अब उक्त रिक्त पदमा नयाँ नियुक्ति प्रक्रिया अगाडि बढाउनुपर्नेछ ।
तपाईंको प्रतिकृया



