निर्यात बढे पनि रोकिएन व्यापार घाटा, अघिल्लो वर्षभन्दा ६ प्रतिशतले वृद्धि

काठमाडौं । नेपालको वैदेशिक व्यापारले गत आर्थिक वर्ष २०८१/८२ मा नयाँ कीर्तिमान कायम गरे पनि देशको अर्थतन्त्रले भने राहतको सास फेर्न सकेको छैन । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकले आयात र निर्यात दुवै हालसम्मकै उच्च विन्दुमा पुगेको देखाए पनि व्यापार घाटाको खाडल झनै गहिरिएको छ । सबैभन्दा चिन्ताजनक पक्ष, निर्यातमा देखिएको उछाल नेपालको मौलिक उत्पादनले नभई आयातित कच्चा तेलको प्रशोधन र पुनःनिर्यातले धानेको छ ।

तथ्यांकअनुसार, गत आवमा नेपालले कुल रु. २० खर्ब ८१ अर्बको वैदेशिक व्यापार गरेको छ । यसमध्ये रु. १८ खर्ब ४ अर्ब बराबरको वस्तु आयात हुँदा निर्यात भने रु. २ खर्ब ७७ अर्बमा सीमित छ । परिणामस्वरुप, देशले रु. १५ खर्ब २७ अर्बभन्दा बढीको व्यापार घाटा व्यहोरेको छ, जुन अघिल्लो वर्षभन्दा ६ प्रतिशतले बढी हो ।

निर्यातको खोक्रो जग

निर्यातमा देखिएको ८१.८० प्रतिशतको अस्वाभाविक वृद्धिदरको मुख्य चालक भटमास र सूर्यमुखी तेल बनेको छ । नेपालले गत आवमा रु. १ खर्ब ८ अर्बको कच्चा भटमास तेल र रु. २९ अर्बको कच्चा सूर्यमुखी तेल आयात गरी प्रशोधनपछि क्रमशः रु. १ खर्ब ६ अर्ब र रु. १२ अर्बभन्दा बढीको निर्यात गरेको छ । यी दुई वस्तुले मात्रै कुल निर्यातको झण्डै आधा हिस्सा ओगटेका छन् ।

दक्षिण एसियाली स्वतन्त्र व्यापार सम्झौता (साफ्टा) अन्तर्गत भारतले दिएको भन्सार छुटको सुविधाको लाभ उठाउँदै नेपाली व्यवसायीले कच्चा पदार्थ आयात गरी सामान्य प्रशोधनपछि पुनः भारत नै निर्यात गरेका हुन् । भन्सार विभागका निर्देशक किशोर बर्तौला यसलाई अर्थतन्त्रका लागि दिगो मान्दैनन् । ‘आयातित तेल नै बढी निर्यात भएको देखिन्छ, यस क्षेत्रले रोजगार सिर्जना र मूल्य अभिवृद्धिमा खासै ठूलो योगदान गरेको देखिँदैन,’ उनले भने । विगतमा पाम तेलको निर्यात यसैगरी हुने गरे पनि भारतले कडाइ गरेपछि व्यवसायीहरू भटमासतर्फ आकर्षित भएका हुन् ।

पेट्रोलियमदेखि स्मार्टफोनसम्म आयातको चाप

तेलबाहेक, देशको सबैभन्दा ठूलो आयात पेट्रोलियम पदार्थ नै रहेको छ, जसमा डिजेल, पेट्रोल र खाना पकाउने ग्यासमा मात्रै रु. २ खर्ब ५५ अर्बभन्दा बढी बाहिरिएको छ । यस्तै, स्मार्टफोन र विद्युतीय कार पनि प्रमुख आयातित वस्तु हुन् ।

अर्कोतर्फ, नेपालका मौलिक उत्पादनहरू जस्तै गलैँचा (रु. १०.७७ अर्ब), अलैँची (रु. ७.६८ अर्ब), छुर्पी (रु. ४.५१ अर्ब) र चिया (रु. ४.२१ अर्ब) को निर्यात भने तेलको तुलनामा निकै न्यून छ । यसले नेपालको निर्यात व्यापार केही सीमित वस्तुको आयात-प्रशोधन-पुनःनिर्यातको चक्रमा फसेको स्पष्ट पार्छ ।

व्यापार घाटाको सबैभन्दा ठूलो हिस्सा छिमेकी मुलुक भारतसँग नै रहेको छ, जहाँ नेपालले रु. ८ खर्ब ४६ अर्बभन्दा बढीको घाटा व्यहोरेको छ । त्यसपछि चीनसँगको व्यापार घाटा पनि उच्च छ । यद्यपि, अफगानिस्तान र डेनमार्कजस्ता केही मुलुकसँग भने नेपालले सामान्य व्यापार नाफा कमाएको छ, तर त्यो अंक नगण्य छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री