निजी क्षेत्रलाई सहजीकरण गर्न नसके समृद्धि सम्भव छैन : प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकले आर्थिक समृद्धिको लक्ष्य हासिल गर्नका लागि राज्यको नीतिगत संरचना र समग्र कार्यशैलीमा नै सुधार आवश्यक रहेको बताएका छन् । नेपाल उद्योग परिसंघ (सिएनआइ) का नवनिर्वाचित पदाधिकारीहरूसँग आज आफ्नो निजी निवास खुमलटारमा भएको भेटघाटमा अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन् ।

उनले देशको आर्थिक विकासमा निजी क्षेत्रको योगदानलाई निर्णायक भन्दै राज्यले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने आवश्यकता औँल्याए । ‘निजी क्षेत्रलाई सहजीकरण गर्ने स्पष्ट नीति र प्रभावकारी संरचना तयार नगरी समृद्धिको लक्ष्य हासिल गर्न सकिँदैन,’ अध्यक्ष प्रचण्डले भने, ‘राज्यले अब व्यवसायीलाई दुःख दिने होइन, बरु सहयोगी र सहजकर्ताको भूमिका निर्वाह गर्ने मनोवृत्ति विकास गर्न जरुरी छ ।’

भेटका अवसरमा परिसंघका पदाधिकारीहरूले पनि मुलुकको आर्थिक विकासमा निजी क्षेत्रले खेलेको महत्वपूर्ण भूमिका र अध्यक्ष प्रचण्ड प्रधानमन्त्री रहँदा निजी क्षेत्रसँगको सहकार्यको वातावरण अत्यन्तै सकारात्मक र सशक्त रहेको स्मरण गरेका थिए । उनीहरूले आगामी दिनमा पनि यस्तै सहकार्य र समन्वयको अपेक्षा राखेको बताएका थिए । 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री