कुकुर भुकेपछि बाहिर निस्किएका घरधनीमाथि खुकुरी प्रहार, बुद्धचित्त लुटियो

काठमाडौं । बुद्धचित्त चोरी गर्न पुगेको समूहले ललितपुरमा एक घरधनीमाथि खुकुरी प्रहार गरेका छन् । शनिबार राति सवा २ बजेतिर ललितपुरको गोदावरी नगरपालिका-७ गुरूङचुले गैरीडोलीमा रहेको बुद्धचित्तको रूखबाट दाना टिप्न आएको समूहले घरको सिसिटिभी तार काटेर चोरी सुरु गरेको थियो ।

तर, कुकुरको भुकाइपछि घरधनी कृष्णबहादुर मार्फा बाहिर निस्किए । त्यतिबेला समूहले उनीमाथि खुकुरी प्रहार गरी घाइते बनाएर बुद्धचित्तको दाना लिएर फरार भएका थिए । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीका अनुसार घरधनीको दायाँ हातमा चोट लागेको छ र उनीलाई आनन्दवन अस्पतालमा उपचार गराइएको हो ।

उनको हातमा पाँच वटा टाँका लागेको छ र उनी अहिले डिस्चार्ज भइसकेका छन् । घटनापछि आइतबार बिहान ५ बजे प्रहरी वृत्त चापागाउँको टोलीले तीन जना संलग्नलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीका ३० वर्षीय प्रतिमान गोले, काभ्रेका २६ वर्षीय बुद्ध तामाङ र सिन्धुपाल्चोकका २६ वर्षीय जीवन तामाङ छन् । उनीहरूबाट ९९ वटा काँचो बुद्धचित्तको दाना बरामद गरिएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरू आपराधिक पृष्ठभूमि बोकेका छन् । प्रतिमान गोले यसअघि मोटरसाइकल चोरीमा संलग्न देखिएका थिए भने बुद्ध तामाङ सुनको चेन लुटपाटमा संलग्न रहेको तथ्य फेला परेको छ । घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री