पूर्वी नेपाल जलमग्न, पश्चिममा उर्लियो खतराको बादल

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहँदा विगत १२ घण्टामा देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, पूर्वी नेपालमा केन्द्रित वर्षाको प्रभाव अब क्रमशः मध्य तथा पश्चिम क्षेत्रमा सर्दै गएको छ, जसले गर्दा ती क्षेत्रहरूमा बाढी तथा पहिरोको जोखिम बढेको छ ।

विभागको पछिल्लो तथ्याङ्कअनुसार, सबैभन्दा बढी कास्कीको लुम्लेमा १५१ मिलीमिटर वर्षा मापन गरिएको छ, जसलाई अति भारी वर्षा मानिन्छ । यस्तै, धनकुटामा १२१ मिमि, सुनसरीमा १३० मिमि र इलामको माइपोखरीमा १२१ मिमि वर्षा रेकर्ड भएको छ । यी चार स्थानमा भएको अति भारी वर्षाले स्थानीय जनजीवन प्रभावित पारेको छ । यसबाहेक, सिन्धुपाल्चोक, पर्वत, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर, तनहुँ, खोटाङ, सोलुखुम्बु, सङ्खुवासभा, तेह्रथुम, म्याग्दी र झापा लगायतका जिल्लाहरूमा पनि पछिल्लो २४ घण्टामा भारी वर्षा भएको विभागले जनाएको छ ।

भारी वर्षाका कारण विभिन्न नदी तथा खोलाहरूको जलसतह उल्लेख्य रूपमा बढेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार, पर्वत जिल्लास्थित मोदीखोलाको जलमापन केन्द्रमा पानीको सतह सतर्कता तह नजिक पुगेको र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन अनुरोध गरिएको छ ।

यसैगरी, इलामको कन्काई मैनाचुली र सुनसरीको सार्दुल खोलामा पनि जलसतह सतर्कता तह आसपास पुगेको थियो । सबैभन्दा खतराको अवस्था सुनसरीको बूढीखोला दुहबी जलमापन केन्द्रमा देखियो, जहाँ राति १:२० बजे जलसतहले खतराको तह पार गरेपछि साइरन बजाएर स्थानीयलाई सुरक्षित रहन सूचित गरिएको थियो । सुनसरी र मोरङ जिल्लाका सेउती, बुढी र खेसलिया खोलामा आकस्मिक बाढीको खतरा रहेकाले दिउँसोसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

पश्चिम सर्दै मनसुनी प्रणाली
पूर्वी नेपालमा बढी वर्षा गराएको मनसुनी प्रणाली आजदेखि मध्य र पश्चिम क्षेत्रमा सर्दै गएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए । उनका अनुसार, हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर सरेकाले नेपालमा वर्षा गराउने प्रणाली विकसित भएको हो । यो अवस्था भोलिसम्म कायम रहने र त्यसपछि बिस्तारै सुधार हुँदै जानेछ ।

आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । वर्षाका कारण भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहनुका साथै शहरी तथा तराई क्षेत्रमा डुबानको खतरा समेत बढेको छ । विभागले नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, र यातायात क्षेत्रमा पर्न सक्ने प्रभावप्रति सचेत रहन सबैलाई आग्रह गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री