काठमाडौं । शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण पर्वतको मोदी गाउँपालिका-३ देउरालीस्थित लाङ्दीमा पहिरोले घर पुरिँदा एक वृद्ध दम्पती बेपत्ता भएका छन् । सोही घरमा रहेकी बुहारीले भने भागेर ज्यान जोगाउन सफल भएकी छन् ।
आइतबार बिहानै घरमाथिबाट खसेको पहिरोले स्थानीय ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीया विष्णुमती विश्वकर्मा पुरिएर बेपत्ता भएको वडाध्यक्ष देवेन्द्रबहादुर क्षेत्रीले जानकारी दिए । घरमा सँगै सुतिरहेकी उनीहरूकी ३२ वर्षीया बुहारी पवित्रा विश्वकर्माले भने पहिरो खस्न लागेको थाहा पाउनासाथ हाम फालेर आफ्नो ज्यान बचाएकी हुन् ।
घटनाको जानकारी पाएलगत्तै डिमुवा प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतर्फ प्रस्थान गरे पनि लगातारको वर्षा र ठाउँठाउँमा खसेको पहिरोले बाटो अवरुद्ध हुँदा उद्धारमा कठिनाइ भएको छ । हाल स्थानीयवासीहरू नै बेपत्ता दम्पतीको खोजीमा जुटेका छन् ।
वडाध्यक्ष क्षेत्रीका अनुसार गत वर्ष पनि सोही ठाउँमा पहिरो गएको थियो । अविरल वर्षाले यस क्षेत्रका खोला तथा नदीहरूमा पानीको बहाव खतराको तहभन्दा माथि पुगेकोले स्थानीय प्रशासनले सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।




