काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको ऐतिहासिक एवं प्रगाढ मैत्री सम्बन्धलाई नयाँ पुस्तामा सफलतापूर्वक हस्तान्तरण गर्दै अझ व्यापक र उचाइमा पुर्याउनुपर्नेमा जोड दिएका छन् । उनले दुई देशबीचको सम्बन्ध लेनदेनमा मात्र सीमित नभई आपसी भावना, सम्मान र सांस्कृतिक आदानप्रदानमा आधारित रहेको बताउँदै यसलाई थप सुदृढ बनाउन सरकारका तर्फबाट पूर्ण प्रतिबद्धता व्यक्त गरे ।
नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वर्षगाँठ (सन् २०२५) को पूर्वसन्ध्यामा फिनिक्स इन्स्पिरेशनद्वारा आइतबार राजधानीमा आयोजित ‘नेपाल-चीन सांस्कृतिक शिखर सम्मेलन, २०२५’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो विचार राखेका हुन् । उनले नेपाल र चीनजस्ता दुई पुराना र ऐतिहासिक सभ्यता बोकेका मुलुकबीचको सम्बन्धलाई सांस्कृतिक माध्यमबाट जनस्तरसम्म विस्तार गर्न यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
‘सम्बन्धहरू लेनदेनका मात्रै हुँदैनन्, यसका पारस्परिक भावना र सांस्कृतिक विविध पक्षहरु हुन्छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘यस सम्मेलनले पुस्तापुस्तासम्म आपसी मित्रता बढाउँदै लैजान र हाम्रो बहुआयामिक सम्बन्धलाई थप प्रगाढ बनाउन असाधारण सन्देश दिएको छ ।’
उनले नेपाल आफ्नो क्षमता र गतिअनुसार विकासको बाटोमा अघि बढिरहेको उल्लेख गर्दै मित्रताका लागि आर्थिक हैसियत (गच्छे) बाधक नबन्ने बताए । ‘मित्रताका लागि गच्छे चाहिँदैन । हामी आफ्नो गच्छेअनुसार पारस्परिक सम्बन्धलाई अझ व्यापक बनाउनेछौं,’ उनले थपे ।




